Last modified on 30 मई 2017, at 18:03

एउटा मान्छे हो जय छाङ्‌छा / जय छाङ्छा

सास फेर्छ खान्छ
रुन्छ हाँस्छ
अरु मान्छेभन्दा कति पनि फरक छैन
र अरु मान्छेभन्दा भिन्न हुनै सक्दैन
त्यसैले अरु मान्छे सरह बाँच्छ र
अरु मान्छेले जस्तै दिन गन्ती पुर्याएर पछि
खुत्रुक्क मर्छ जय छाङ्छा
अजम्वरीको जुनी लिएर
अविनाशीको आशिर्वाद पाएर
अमृतको धारा पिउँदै
कदापि आएको होइन जय छाङ्छा यो लोकमा
त्यसैले नियमित प्रकृयालाई स्वीकार्दै
निश्चित छ उसले पनि एक दिन
यो दुनियाँलाई छोडेर जानै पर्छ र
फुस्सुक्कै मर्छ जय छाङ्छा ।
 
कोही कसैको लागि पनि
मृत्युको विकल्प छँदैछैन
नाटक अभिनयको अन्तिम दृश्य हो मृत्यु
मन्चन पछि पर्दा लाग्छ माचमा
त्यसरी नै पर्दा लाग्छ एक दिन जय छाङ्छाको जीवनमा
त्यसैले कुनै शंका गर्नै पर्दैन
इहलोक छोडेर परलोक गमन गनै पर्छ उसले
अर्थात् मर्छ जय छाङ्छा ।
 
जन्मदै देख्नेहरुले भन्ने गर्थे
रुँदै आएको थियो रे धरतीमा
भविष्यद्रष्टाहरुले भन्ने गरेका छन् रे
हाँस्दै छोड्छ रे यो धरती
खोइ कस्लाई थाहा होला र
कस्तो मराइ हुन्छ उसको
तैपनि निश्चित् छ उसको समय सकिए पछि
अनन्त यात्रामा जुट्छजुट्छ
अर्थात् मर्छ जय छाङ्छा ।