काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
नाप्नुपर्छ पैतलाहरूले अब भञ्ज्याङहरू
टेक्नुपर्छ, आँखाहरूले अब सारा पहाडहरू
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरू
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिँढीका स्वरहरू
छाम्दै हातहरूले काँडाहरू अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरूमा बिछिन सक्नुपर्छ ।
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन, ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन, थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउँले सगर थाम्न खोजेर थामिन सक्दैन सगर
वर्षे भेलको सानो चपेटले, मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश
कसेको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने छैन
मुहान जो बग्नुपर्छ, जम्नुको यसको कुनै अर्थ हुँदैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ,
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरूमा घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास
अनिष्ठ भन्छन् सपना देख्नेहरू पनि
यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातीमाथि बोकिरहेकैछ
यस्ता कतिकति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटै इतिहासको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजिरहेकोछ ऊ
युगका गह्रौँ पाइलाहरू अब धेरै बोक्न सक्दैन
त्यसैले बग्ने निकास खोजिरहेकोछ ऊ ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।