Last modified on 4 जून 2020, at 11:25

कान्छी, भट्टी र देश / कृष्ण सेन 'इच्छुक'

अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र, अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौँ, प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ

यात्रीहरू आइरहेछन् र गइरहेछन्
परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ

भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँशु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैँ
गहबाट बहका नदीहरू झारिरहिछ
कान्छी भट्टी थापिरहिछ।

उसका आँशुहरू
मानौँ, खुशी खोसिएका कोशीका अशान्त छालहरू हुन्
उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ।