गिरि-वक्ष-विदारी उन्मत्त निर्झर
हिंड्दै-हिंड्छ सागर-सन्धान
मत्त पदचापले
पथका विपाकले पथमै हराउँछ
कसले जान्दछ कुन विशद विषादले;
त्यो निर्झर छैन छैन त्यो निर्झर
मात्र, मेरो व्यथित श्रवणमा आउँछ उडेर
हाहाकार-ध्वनि उसको
श्रावण वर्षणभर ।
गन्ध-वितानका पङ्खमा चढेर –
वसन्त व्याता चल्दै छ उडेर –
मनमा हुन्छ मानो मेरो विस्मृति छोपेर
त्यो पनि ता हराइहाल्छ
वैशाखी हुरीका प्रकोप
चढेर हृद्-आशाले
कुन्नि कुन भग्नमनोरथ ;
गन्ध-मृदुल त्यो वसन्त छैन, ना-इँ
सुगन्ध-सुरभि ना-इँ !
तपनको तापमा तप्त गगनमा
दिगन्तको उसपारदेखि
आउँछ कज्जल बादल
पहाड बनेर अत्यन्त रोषले
ढाल्नलाई स्निग्ध नीर
यो धरणीको दग्ध वक्षमाथि
अति नै मायाले – ;
आएर विहङ्ग अङ्गनमा
टिपेर शेषका दुई एक क्षुद्र कणिका
फर्कन्छ नीड
सान्ध्य दीपहरु बल्न थाल्छन्
द्वार-वातायन
तर त्यहाँ विनीत विभाको
सुप्त सभामा
ऊ जो ना-इँ – ऊ ता ना – इँ !