Last modified on 16 फ़रवरी 2022, at 20:14

खस्रो छाला / पुष्कर लोहनी

सपना देखेर मात्र पुग्दो रहिनछ
रहरले बेसरी घचघच्याएको
झिम्म गर्न नसकिने आँखा
विपना भएर ठिङ्ग उभिनपुग्छ ।

भित्तै हो कालो पातेको नदेखिने भित्ता
चिप्लिन्छ हातबाट समाइएको अनुहार
पानी- पानीले भरिएको चिप्लो छायाँ
तर्न खोज्दा हातले छेकेर तर्साएको आवाज ।

पोखरी धमिलिन्छ
आवाज छिरेजस्तो झस्काउने झझल्को
जुठो पारिदिएर मिल्काइदिएको मन
मुखैभरि थुकैथुकको छिर्का ।

एकान्त कुना खोज्ने आँखा
भिजेको अनुहार आफ्नै हातले पुछ्नु परेको
घामले पोल्दा टट्याएको खस्रो छाला ।