Last modified on 16 फ़रवरी 2022, at 16:36

तिमी हुनुको (अंश - १९) / इन्दिरा प्रसाई

शब्दहरूसँग गीत थिएन
स्वरहरू हराएका थिए
कलेजो काँपेर पनि
मैले तिमीलाई
मात्रै तिमीलाई चुमेँ ।

मसँग रित्तो घैला थियो
तिमीसँग पनि
थोपा थिएन ।

एकाकार हाम्रो स्वरूपले
जलाधार निर्माण गर्यो
जताततै हरियालीको
सुन्दर संसार बिस्तार गर्‍यो ।

तर बिस्तारै तिमी
मरुभूमिमा परिणत भयौ
हिजोआज म
आँसुले सिँचाइ गर्दै छु ।