Last modified on 16 मार्च 2017, at 14:48

त्यो रगताम्य प्रेम / मनप्रसाद सुब्बा


जीवनका क्रूर ठट्टाहरूको बोझमुनि
दबिएर कुप्रिराखेको थिएँ
प्रारब्धको अँध्यारो खेलहरूप्रति
चुपचाप समर्पित थिएँ
अनि आयो एक दिन तिम्रो न्यानो सास
जसले डोहोर्याएर लग्यो मलाई तिम्रो मनको गुफाभित्र
कमुलो उज्यालोले छ्याङ्ग पारेको गुफा

अनि त गुफाको अर्को कक्ष
पीडाको गहिरो आवाजसित खुलियो
फुटेर टुक्रिएका एक थाक सपनाहरू उदाङ्गो पार्दै
जहाँ पल्टेर छट्पटिरहेथ्यो तिम्रो आत्मा

म भने
निस्सहायपनको चट्टानमा अडिएर
तिम्रो आत्मालाई उद्धार गर्ने वचन दिइरहेछु

मेरा हातहरू काँटी ठोकिएका छन् पर्खालमा
सपनाका रेखाहरू कोरिएका हत्केलाहरूबाट रगत चुहिरहेछ
एक एक थोपा रगतसित अँगालो खस्तैछ
स्फूर्तिका खुट्टाहरू साङलोले बाँधिएका छन्
तर कसैले नटेकेको देश टेक्न चाहने
त्यो चाह भने नबाँधिएको फुक्का छ

असंवेदनशील यो दुनियाँले
समयहरू भण्डारमा राश थुपारेर बन्द राखेको छ
त्यसैले म क्षणहरु चोर्छु –
मेरा आँखाका प्यालाहरू भर्न
अनि कतै एकलास ठाउँमा तिमीसँग बाँड्चुँड गर्न
म क्षणहरू चोर्छु

ढुङ्गे आँखाहरू अग्लो उठेका
पर्खालभित्रको कोठरीमा थुनिएर
तिब्र चाहनाले पखेटा उमार्छ
अनि दोषारोपको पर्वतपारि माथिमाथि उड्छ

यो खल्बलिँदो संसारको कोलाहलले
हाम्रा साउतीहरूलाई डुबाउन सक्तैन...