भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धर्मदत्त उपाध्यायको गाडी / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भन्नेले प्राडो भने पनि, पजेरो भने पनि
टाटा, टोयोटा अथवा मुस्ताङ म्याक्स नै भने पनि
मैले चढेको गाडी
धर्मदत्त उपाध्यायकै हो ।

स्वामित्व हातमा परेसँगै
मैले यसको रङ परिवर्तन गरेको हुँ
यो खैरो थियो होला, पहेँलो थियो होला
अथवा, कालै किन नहोस्
ठूलो खर्च गरेर ‘डेन्डिङ पेन्टिङ’ हानेर
मैले नै यसलाई रातो बनाएको हुँ
यो धर्मदत्त उपाध्यायकै गाडी हो
यो रातो गाडी हुँदै होइन ।

आवरणको कुरा नगर्ने हो भने
यो त्यही पुरानो खटारो हो
वर्कसपमा ठाकठुक पारेर निस्कँदा लाग्छ
अब यो चल्छ खुरुखुरु
परिवार बोकेर हिँड्नुपर्छ बेलाकुबेला
तर, कहिल्यै सकुशल गन्तब्यमा पुग्ने आत्मविश्वास हुँदैन
पन्चट भइरहन्छ घरीघरी
इन्जिन बिग्रिरहन्छ रातारात
‘रिन्यू फेल’ भएको वर्षौं भयो
तथापि
ट्राफिकलाई घुस ख्वाएर
प्रदूषणमुक्त सवारीको हरियो स्टिकर टाँसेकै छु ।

भन्नलाई म यो मेरो गाडी भन्छु
देख्नेले पनि मेरै गाडी ठान्छन्
तर, यसको ‘ब्लु बुक’ अझै धर्मदत्त उपाध्यायकै नाममा छ
‘बीस वर्ष नाघेको’
‘भन्सार सुविधामा झिकाएको’
कुन्नि केके जाति भनेर
यातायात विभागले नामसारी गरिदिएन
धर्मदत्त उपाध्यायपछि चलाउनेले
जसरी ठाडो कागजमा ल्याप्चे हानेर चलाए
मैले पनि त्यसरी नै चलाइरहेछु ।

यो अहिले
अकस्मात् कामचलाउ भएको होइन
यो वर्षौंदेखि कामचलाउ छ
यो धर्मदत्त उपाध्यायसँग लिएदेखि नै कामचलाउ छ ।

फेरिने त सिटको खोल र बाहिरको रङमात्र हो
कसैले इन्डियन पार्ट्स् हालेर चलाए
कसैले चाइनिज पार्ट्स् हालेर चलाए
कसैकसैले लोकल पार्ट्स् पनि हालीहेरे
यतिचाहिँ सत्य हो
यो चलिरहेको छ
यसको इन्जिन धर्मदत्त उपाध्यायकै पालाको हो
इन्जिन नबदलुन्जेलसम्म यो नयाँ हुँदै हुँदैन ।

भन्नेले इन्डियन भने पनि, चाइनिज भने पनि
अमेरिकन भने पनि
अथवा ‘लोकल प्रोडक्ट’ नै ठाने पनि
संविधानसभाले समेत संविधान बनाउन नसकेको सडकमा

धर्मदत्त उपाध्यायकै गाडी चलाइरहेछु ।

००
(धर्मदत्त उपाध्याय – पञ्चायतकालीन एक मन्त्री)