भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नामको गम्भीर मुद्दा / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म सय प्रतिशत रेमिका थापा हुँ ।
तर बुझ्नेले मलाई 'अन्य' बुझेको छ ।

यो 'अन्य '- ले बदनाम पारेको छ मेरो नाम
मलाई काफी छैन,
मैले 'म' हुनको निम्ति
अरूले बुझिदिएको गम्भीर प्रमाण हुनुपर्छ ।

बुझ्न बसेकाहरूमा अबुझहरू किन छन् ?
बुझ्नै नचाहनेहरू किन छन् ?

बीचमा बसेर सोध्नेहरू को हुन्  ?
मैले सधैँ सोधेभरिको उत्तर दिनुपर्ने
मैले सधैँ खोजेजति सफाइ दिनुपर्ने
मैले सधैँ भनेजति कैफियत माग्नुपर्ने
मेरो प्रमाण-पत्र अरूले बुझेको आयतनभरि तय हुने
र सधैँ अनुत्तीर्णचाहिँ मैले हुनुपर्ने  ?
म कहिले सोध्नेहरूको लहरमा हुनु ?
म कहिले तर्क गर्नु ?
आफ्नो विचारको ऱ्याङठयाङ कहिले मिलाउनु ?

फाटेको भोटो सिउन नपाउने ज्यानमारा व्यवस्था
खबरदार ! नाङ्गो हुन पाइन्न ।
मिडियासँग नाङ्गोहरूको अर्कै अन्तर्राष्ट्रिय एजेण्डा छ ।
बरू तिम्रो सिल्ली हाकिमको जडौरी विज्ञापन ओढ
यो अनौठो फ्यूजनलाई सङ्ग्रहालयमा राखिनेछ
र हरक्षण तिमीसँग सहानुभूतिपूर्वक अस्तित्वको पज्जलगेम खेलिनेछ।

तिमीले देश थेग्नु तर आफ्नो अस्तित्वको सिन्का उठाउन पाउँदैनौ
तिमीले युद्ध थाम्नु तर आफ्नो अनुहारको भार आफ्नै हत्केलाले
थाम्नु पाउँदैनौ ।

तिमी कुरा गर तर मुद्दा नउठाऊ ।
तिमी सपना देख तर प्रकल्प नरोज ।
तिमी खुकुरी समाऊ
तर आफ्नो घरको धुरीमा ठुँग्न आउने गिद्धहरूको
टाउको नगन ।

यसरी बीचमा बसेर निर्णय कसले गरेको हँ ?


आम बजेटको मसौदामा मेरो नाममाथि बहस कहिलेदेखि हुने  ?
सधैँ 'अन्य' - को लहरमा उभेको लोकतन्त्रको सिङ्गो संज्ञामाथि
राष्ट्रिय छलफल कहिलेदेखि हुने ?