नेपाली युवाको पीडा / विष्णु न्यौपाने
धान्दैन ज्ञानले मात्रै जिन्दगी जीउने कला
खोज्दै आधार नासिन्छन् आधा जीवनका पला
खोल्छन् आदर्श धेरैले जुक्ति हुन्न कसै सित
बेसहारा बँचाईमा मुक्ति हुन्न कदाचित
जो जन्मै दीर्घ रोगी छ विपन्न, गरिबी जड
सक्तैन जिन्दगी हाँक्न दोस्छ भाग्य भयानक
पसारी हात नाता वा कुटुम्ब माझ धाउँदा
निरीहता सधैं जाग्छ ज्ञान, ध्यान कताकता
झोक्का चल्छन् र हल्लाका झोक्काकै पछि दौडने
नदी बग्छन् र आशाका भुँमरी बिच पौडने
पखेटा प्वाँखले भर्दै चन्द्रमा छुन उड्दछन्
खरानी भेष भै फिर्दा आँसुका गाँस निल्दछन्
मगन्ते देश बन्दामा जोगी नै बनिए कति
घिस्रँदै श्रमले बाँच्ने कछुवा गति छन् कति
चढेका कष्टले कक्षा मात्रा धेरै बढेपनि
हुन्न सीप प्रतिस्पर्धी मौका ज्यादै भएपनि
शिक्षाको नीति हो मात्रै उछिन्नु साथ सङ्गति
सिकेकै सीपले बाच्ने बन्दैन किन पद्धति ?
आयु काँटा सधैँ चल्छन् वर्ष थप्तै निरन्तर
सक्तैन जिन्दगी कुद्न रुन्छ देखेर अन्तर
दोष यो युगको हैन, हैन दोष कुमार्गको
स्वयं वा श्रृष्टिको हैन दृष्टि हो खेल स्वार्थको
नीति हो राष्ट्रको दोषी कार्यभार समाजको
नेतृत्व राज्यको बोक्ने व्यवस्थापक काजको
शिक्षाको स्वाथ्यको राम्रो प्रवन्ध गाँस वासको
सुरक्षा रोजगारीको शान्तित्व र कपासको
गर्दैन राज्यले जैले प्रबन्ध राज्य भित्रको
जल्नेछ दुखको राँको युवाका मन भित्रको
शक्तिहो राज्यको यौटै युवा हो चम्किलो धन
त्यसैलाई सधैं राज्य गर्छ हेला चिरन्तन