छमछम कुदेका
कलिला तिम्रा बालक खुट्टा
यो आगनमा कुँदिएका छन्
अचेल,
त्यही आकार उतारेर
म काटिरहेछु जुनेली रात,
बार्दलीमा उभिएर जिस्काउछ
झुक्याउछ तिम्रो आकारले
र झुलुक्क हराउछ
मलाई छक्याएर
यतैकतै खेल्न गएको भए हुन्थ्यो
बरु साथीसग झगडा झेल्न गएको भए हुन्थ्यो,
मैले सोच्नै नसकेको
तिमीले बाच्ने परदेशी संसार
मेरो अर्थमा
मेरो जीवन जस्तो जटिल छैन,
टुक्रियौ मुटुबाट
र उफि्रयौ अन्तै कतै
रोपियौ आत्मामा
र फुल्यौ अन्तै कतै,
जीवन अपिलहीन फिरादपत्र जस्तो छ,
परदेशमा झरेको तिम्रो पसिनाको पनि
अझै माया लागेर आउछ
जिजीविषालाई अब
सपना बुन्नु छैन,
म सञ्चै छु भन्न पनि सक्दिनँ
म दुख्दैछु भन्न पनि सक्दिनँ
म यो कसरी भोगु ?
म यो कसरी लेखु ?
मेरो परदेशी छोरा !
म पत्र लेख्न सक्दिनँ तिमीलाई।