पृथ्वीराज चौहान - अष्टम सर्ग / लक्ष्मीप्रसाद देवकोटा
(१)
जय र चन्द कनौजी राजा
घमण्ड प्रचण्ड ।
अश्वमेध यज्ञ गर्नमा थिए
भारत मखण्ड ।
(२)
उनकी छोरी हिउँकै गोरी
कमल छालाकी ।
मिर्गका लोचन लमकोशे त्यसै
अप्सरा जस्ती, अमृत रसै ।
छल्छल गरी हिँड्छिन् कि जस्ती
अलक कालाकी ।
बैंशका हरा बागमा फुल्ने
भंवरा लहर जसमा कुल्ने
गुलाफ गालाकी ।
सोहमा भर्खर प्रवेश गर्दी
हंसकी चालाकी ।
पारिजात सुमन मुस्मुस गन्धे
बैंशकी भित्री कोमल छन्दे
उपमा जस्ती मानव रूपमा
अप्सरा बालाकी ।
पातली कम्मर रेशमी अम्बर
आँखाकी काली वनकी संवर
सुन्दरी नाममा पहिली नम्बर
भृकुटी भालाकी ।
लालीले लाल दाडिमको पल्लव
अधरले उज्याली ।
मोतीको दन्त स्वभावकी सन्त
पाउनु कहाँ भारत अन्त
नन्दनकी उकाली ।
(३)
बादलले दिए उनलाई रङ्ग
अङ्गमा सुनका ।
कुँदेका थिए उनका मुख
छिनोले जूनका ।
आकाशको नीलो आँखामा परी
कालोमा मिलेको ।
अँधेरी रातको गाजल कालो
नानीमा खुलेको ।
फूलको तानमा बुनिने धागो
शरीरको सूतमा ।
वैलेला जस्तो लोभले हेर्दा
लोभका छुतमा ।
सागर लहर छिनोले कुँदै
झलक मोतीका ।
हीराको दाना लाएर खुल्थे
टूना है लोतीका ।
प्रकृति दिन्थिन् सकल रस
स्वरूपमा रोशनी ।
जूनले दिन्थिन् कल्पना उनको
ताराले मुस्केनी ।
कोयलीलाई जो दिन्थे गला
कुसुम सारले ।
उनैले उनको मिलाए स्वर
सुरिलो पारले ।
(४)
षोडश कला हिमाल शिखर
सुन्दरी जलमाथि ।
हरियो बैंशको वनमा फुल्दो
वसन्त वन रानी ।
अमृतकी थाली नयन बाली
संसार चकोरको ।
गम्भीर चाला स्वरकी ज्वाला
वनमा मयूरको ।
कर्कश जीवन नयनले छुने
पत्तीमा टूना दी ।
पृथिवीलाई सपने घर
बनाउन भरखर निस्केको सरि
युवति जूनाती ।
चिडिया सारा सपना धारा
जूनमा पाएर,
कविका चरा, टूनामा बरा
नबोल्न सकी वनमा हरा
लट्ठ नै पर्छन् सपना हेर्दै
स्वर्गका बूनाती ।
पहाड छाती लागेका घाउ
मलम लगाई ।
जो घाउ लाग्छन् प्रेमीका आँशु
पृथ्वीले बगाई ।
पातलाई घारी क्या पारदर्शी
उपललाई फूल भारी पर्शी
जललाई प्यारो बिम्बले हर्षी
मुर्दाझै हुन लागेको संसार
ज्योतिले जगाई ।
टह र टह लगाई हाँस्दी
आफ्नै नै टूनामा ।
झोपडीलाई स्वर्गमा लगी
किरणले छुनामा ।
ती त्यस्ती थिइन् चन्द्रमा जस्ती
अमृत उज्याली ।
हेर्दैमा लाग्ने पुरुषको मन
नन्दन उकाली ।
(५)
पा रानी वनमा
पातिलो धनमा
जहाँ छन् फूल मुस्किने जूनमा
झुलन वन
शैलको भन
जहाँ छन् नाला मृदुल बोली
मधुर गुनगुनमा ।
प्रकृति देवीले छानिएकी
मृगिणी यौटी बालकैदेखि
खुआइएकी रसका मुना
रेशमी सुनसुनमा ।
चिल्ली र ताजा
सुन्दरकी राजा
आँखामा चढदो बैंशको तेज
कोयली कुनकुनमा ।
फलको खोपी सुगन्ध रोपी
सिँगारदार सखीका धेरै
मधुर छुन्छुन्मा ।
भँवराहरू अएर रुने
रसको गुन्गुनमा।
मखमल गादी घाँसको सजी
रङ्गले हरियो ।
हीराले फल्मल छानाका मनि
जो चित्रण गरियो ।
चाँदीलाई चट्ट पखाली मिलाई
अमृत कलकलमा ।
आँखामा खालि झल्किने जल
उज्याला पलपलमा ।
पन्नाले भरी बैठक हरि !
चराका खलबलमा ।
म केले बनाऊँ तस्विर तिनको
आँखाका टलपलमा ।
(६)
मा पहाड वनमा
नेपाली धनमा
नीडमा उँचामा ।
डाँफेकी छोरी, रङ्गकी राम्री
यी शाहजादी थिइन् है हाम्री
आउन्न रङ्ग सबै त्यो देख्न
अभागी कुचामा ।
उड्नलाई तयार छोडेर गुँड
सुनका सपना ।
देखेर बादल किल्लामा राम्रा
सूर्यझै सुन्दर वीरलाई देखी
गरेर जपना।
अथवा कुनै वसन्त वनमा
कविले डुल्दामा। ओर्लेकी जस्ती सुनकेस्री उषा
त्यो पूर्व खुल्दामा । गानकी मधुर विहगकी अधर
सुनका तारमा ।
स्वर्गको प्रेमको गाना है गाउने
हृदय भारमा ।
तस्विर खिची आकाश पटमा ।
प्रियतम रानीको ।
सबैका छाती आँशुले कल्काई
मन हर्ने कविको ।
(८)
अथवा तिनी बैंशकी रानी
वनमा धानीमा ।
हरा र भरा भरीमा चरा
कलकल पानीमा ।
फूलका कुम्का लाएर बस्ने
लहरे पींगमा ।
कन्याइमार्दा मिर्गले आफ्ना
प्रेमका सींगमा ।
राती र गेडी लगाई माला ।
पोतेका लुंगमा ।
पातको बुट्टा परेको सारी
हरियो रंगमा ।
कोरली आँखा सखीका हेरी
हरिणी सँगमा ।
वनका देवी सँगमा बस्ने
उज्याला लँगमा ।
बैंशकी रानी शारीमा धानी
गौरवको ढंगमा ।
(९)
अथवा यौटी अकेली तारा
साँझको आकाशमा ।
दिन पसी सकी सागरको दरबार ।
उचाली घुम्टी घामको हेर्दी
मानिसको घरबार ।
नीलोको वनमा अकेलापनमा ।
गुलाफ वैलेको ।
पत्तीमा टेकी बिलाउँदा सबै
अगाडि फैलेको ।
नीरको वनमा, मिर्मिरपनमा
हीराझै झलमल ।
बाटुली मुखकी हाँसेकी सुखकी
नीर्कमलमाथि परेको थोपा
आँशु टलपल ।
अप्सरा आई रातमा रुंदा
प्रेमको दानामा ।
वियोगलाई आँशुले लेख्दी
नीरका पानामा ।
प्रेमको चमक पाएर थोपा
झल्किन्छ नजरमा ।
स्वर्गको रङ्ग वैलेका मानिस
हरूको शहरमा ।
स्वर्गको सुन्दर भावको नजीक
ल्याएर मिर्मिरमा ।
डुब्नलाई तयार पृथिवी हुँदा
शून्यको तिमिरमा ।
ती सानी नानी हाँस्दछिन् झलझल
भावले बटुली ।
असीम पनको वीरको रङमा
चमचम चटुली ।
बाटुली मुखकी हाँसेकी सुखकी
सौन्दर्य अकेली ।
मिर्मिरकी रानी हीराकी खानी
अमृत अब बर्सन्छ भनी
हावालाई डाक्दी पृथिवीबाट
स्वर्गकी हवेली ।
उँचा छ बन
आकाश भन
वीरको धन
आउँछन् सखी छम्छम गर्दै
भरेर गगन ।
त्यस्तै ती थिइन
ती शाहज्यादी
उपमा राम्रो बन्दैन आधी
कलमल पार्ने उँचामा उँचा
कन्नौजभवन ।
(१०)
अथवा सानी मन्दिर जस्ती
मदनलाई बनेकी ।
कुसुम वेशमा पत्ती र नसा
मिलेर चुनेकी ।
मधुरको छिनो किरणको लगाई
लच्काले कुँदैकी ।
दिव्यको नाम लिएर साफ
सिर्जनको राप मधुरो राप
सुगन्ध रूपमा हृदय घुसी
बुट्टाले सजेकी ।
रङ्ग र रसको शृङ्गार पाई
उप्साई कतै लच्काई कतै
मुस्काई कतै मस्काई कतै
शिल्पकी कला सुरको सुरमा
बादल र जूनको मिलाई भरमा
शशीलाई सुझेकी ।
सकला हरा विचारकी पत्ती
उपरकी भावना ।
सुन्दरकी ताजऊ फुलेर बस्ने
प्रेमकी सपना ।
(११)
अथवा तिनी कविको मनमा
चित्रकार जागेर ।
शब्दका रङमा नआउने ठूला
कल्पनापटको रङ्ग र फामा
शारदासँग ज्योतिका धामा
बनेर मागेर ।
रङ्गमा मिही भरेर खिच्दा
ध्यानका पटमा ।
सजीव हुँदी तस्विर जस्ती
गङ्गाका तटमा ।
क्यै खिची लाली साँझको हाली
क्यै बिनी रङ्गीन फलका डाली
क्यै ताला लहर रेखामा चाली
हजार फेरा मेटेर फाली
कविका घटमा ।
एक छिनलाई सुखमा पाई
सपना सजीव रङ्गले छाई
मुस्केर चट्ट बिलाइजाने
सधैंकी तिर्सना ।
अत्यन्तै राम्री, राजकन्या हाम्री
नसक्ने बिर्सिन ।
कन्नौजकी तारा चित्रमा प्यारा
सकिन्न पर्शन ।
विद्यामा उस्तै शीलमा उस्तै
दिलमा उस्तै
उठ्दै र बस्दै मनमा बस्थिन्
वरि र परिमा ।
उनको मुसकान जुहारझैँ थिए
उनका बोली गुहारझैँ थिए
मसीना परीमा ।
लागेका मधुर पल्लव अधर
मसीनो बोल्ने
मसीनो चल्ने
बोलेका घरीमा ।
बोल्दैनथिन् है ती मितभाषी
बोलेमा बोल्थिन् जुहार गाँसी
बास्ना दिलको फुलाई हाँसी
गालामा प्रस्ट खोपिल्डो सानो
फलको पत्ती उप्सेकै मानो
स्वर्गकी परीमा ।
(१३)
संयोगिता हो तिनको नाम
विधिकी उत्तम छिनोकी काम
कन्नौज कुलकी ।
जरामा थियो पुर्खाको बास्ना
बैंशकी फूलकी ।
गम्भीर चाला प्रेमकी ज्वाला
स्वर्गकी मूलकी ।
(१४)
तिनलाई लाग्थ्यो वीरको नाम
अत्यन्त पियारो ।
सुन्दथिन् कथा वीरको ज्यथा
कविको गीत धारो ।
(१५)
सबैमा राम्रा पृथ्वीराज हाम्रा
कविका गीतिमा ।
पराक्रमवाला गम्भीर चाला
भारत उद्धार गर्नका ज्वाला
गुणका उत्तम पहिरेका माला
आर्यका नीतिमा ।
कविता जान्ने सविता जस्ता
धनुमा सिपालु ।
माछाको आँखा प्वाल पार्ने सीपका
उदार दयालु ।
लडाइँमा वीर दुःखमा धीर
डाल र डोलका ।
देवतासँग गणना हुने
अमरका मोलका ।
(१६)
धाईले भन्थिन कसरी उनले
एकलै रणमा ।
पच्चीस दुश्मन हटाइदिए
प्रतापी दिनमा ।
कसरी बाघ साथमा लडे
मिर्मिर जंघामा ।
कसरी उनका यशका टुक्रा
गीत हुन्थे शुघामा ।
(१७)
वीरका कथा सपनासँग
जीवनको गाँसियो ।
सहानुभूति वल्लरी बढी
कीर्तिको फुल्दो रूखमा मुन्द्रा
लगाई टाँसियो ।
(१८)
मन र मन नभनीकन
उनैलाई सम्झन्थिन् ।
बराबर उनको सपना देखी
बिहान ब्यूफिन्थिन् ।
उदय पाई सूर्यले सुनको
प्रताप फिंजाई ।
अनेक चरा कबिझै गाई
सूर्यका वंश उज्याला पार्ने
देवता जस्तो अँध्यारो फार्ने
लाग्दथ्यो उनलाई ।
(१९)
बुबाले तर गरेको निन्दा
सबैका सामुमा ।
सुनेर बुझी धाईकर बातले
सम्बन्ध हुन मुस्किल देखी
एकान्तभित्र कहिलेकाहीं
आँशुका दाना लिएर बस्थिन्
कोसमा लामूमा ।