भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - द्वितीय सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
भारतमा थियो फूट र वैर
द्वेषका हावमा ।
गर्वको गादी चढेर बस्थे
आपस-आपस कगडा गर्दै
हिन्दूका राजा भारतलाई टुक्रा ।
पारेर खालि ईर्ष्याले भर्दै
स्वार्थका सेवामा ।

(२)
प्रकृत यशको वीरको तिर्खा
बाङ्गो छ चालामा ।
प्रकाशन खोज्ने अमरका शक्ति
समरको ज्वालामा ।
आपस-आपस ईर्ष्या र द्वेष
पोसेर बढ्छन्
हाँकले चढ्छन्
दुश्मनी कालामा ।
को कम ? भन्ने डाहाडको आगो
दिदैन गाँस्न ऐक्यको धागो
प्रेमको मालामा ।
प्रदर्शन गर्ने फिलि र मिली
नाचेर उठ्छन् रङ्गी र चङ्गी
यशका टालामा ।
सत्य छ थोत्रो
धर्म छ धोत्रो
मपाई खालि
नाच्दछन् राजा रजौटाहरू
यो नाट्यशालामा ।

(३)
केही छन् खालि
आलस्य पाली
मधुको प्यालामा ।
लोभको नजर गुलाफमा दिने
भँवरा केशमा रङ्गका काला
भरखरका गालामा ।
धूतारका ठट्टा
पोशाकका बुट्टा
झिलि र मिली यशका सट्टा
कामिनी-काञ्चन आलस्य भज्ने
छन् रङ्गशालामा ।
कलिको कल्की
लाएर ढल्की
मपाईं गादी चढेर उल्का
छटूका तालमा ।
स्वार्थको रङ्गीचङ्गी छ पूजा
प्रजाका मुखमा देखिन्न बूजा
राज्यका शीर्ण कलेजा धुजा
गर्वको कालो तिलकलाई क्रोधको भालमा ।
श्रीपेच हल्लाई तरुनी-पयर चलेको तालमा।
महका रानु चाकामा बस्थे
दशनका फौज चलाई खालि
मस्तीको हालमा ।
भारतमाता आँशु ली रुन्थिन् ।
तिनको चालामा।

(४)
कसैमा थियो छिमेकी लडाइँ
राज्यको विस्तारमा ।
ती माखा मार्थे घरका प्रजा
दुर्बल शरका दुर्बल धनु
दुर्बल करले उचालीकन
गर्वको प्रस्तारमा ।
बलियालाई मिच्नको शोख
वीरलाई सधैं कीर्तिको भोक
मानिसको शक्तिले ।
अनौठा चाला लिएर चल्छ
विवेकविना टेकमा चढी
भाइ र भाइ बीचमा परी
कुचाली युक्तिले ।
बलियो बाँध नभई बाढी
नाशेर जान्छे देशको बाली
हिलो र मैलोले ।
आदर्शविना मानवशक्ति
विरोधमा पस्छ नपाई युक्ति
दशन-दु:खको खोल्दछ मुख
पापको थैलोले।

(६)
वसन्त ताजा आदर्श बेला
बीचबीचमा फुल्दछन् ।
तर ती पात पहेंला हुन्छन्
ती रस गल्दछन् ।
मशीहाहरू बुझिन्नन् पछि
सत्यको गन्धमा ।
एक युगको आँखा खुलेर हुन्छ ।
सत्यको मुहार मलिन फेरि
आर्कोको द्वन्द्वमा।
कट्टर अन्धा मिथ्याले भर्छन्
सत्यको भानमा ।
दुनियाँ हरे ! उस्तै छ सधैं
बहिरो कानमा ।
नबुझने भन्छ बुझने को राजा
संसारभरको मै ।
बोक्रोमा पुग्छ दुनियाँ फेरि
त्यसैलाई भन्छ गुदीको ढेरी
अँधेरा आँखा भै ।
निर्मोही हुँदा दुनियाँ रुन्छ
आखिर जागा भै ।

(७)
छदैछ भारत स्वर्गझै सुन्दर
ज्ञान र गुणहरूको मन्दिर
मानवजगत्मा ।
तैपनि छोड्छ आँखाले छवि
तैपनि हुन्छन् अँध्यारा रवि
तैपनि सत्य फुस्रेर जान्छ
तैपनि ज्ञानलाई कालले खान्छ
तैपनि आत्मा असत्मा जान्छ
स्वदेशी रगतमा ।
ईश्वरको ऐन अनौठो रैछ
सत्यको मुहार झल्काउनलाई
भारतको भगतमा ।
स्वर्गको झल्का पठाउनलाई
ब्यूँझिने बखतमा।

(८)
यस बेला थियो अनौठा चाला
टुक्रा र टुक्रा भारतमा बल्ने
ईर्ष्या र द्वेषका पाँच-रङ्गी ज्वाला
मायाकी काली बोक्सीले बाल्ने
यशको ठूलो पीपलमुनि
अँधेरी-उज्याला ।
यो पाञ्चभौतिक शरीरका रङ्ग
ज्वालाका जिभ्रा अनौठा चाली
कलेजा पोल्ने, मुटु है पोल्ने
बोक्सीका दियाला ।
त्यसैलाई भन्थे यस बेला राजा
प्रताप-बल ज्वाला ।

(९)
भारतको शक्ति मिलेको थेन
सागरको नदीमा ।
खोला र नाला कुला र नहर
थिए आफ्ना गतिमा ।
नाशको मरु ताकेर हिँड्थे
सुक्नलाई बीचैमा ।
तिनलाई यौटै मिलाउने थेन
ऐक्यको खोचैमा ।

(१०)
पयो र पयो हात्तीलाई बाँध्छन् ।
ऐक्यमा तारा गगनमा नाच्छन्
मिलनको डोरीमा ।

(११)
विश्व छ अणु-अणुको घर
जरामा मिली हाँगाको पर
एकतालाई पाएर भर
जीवन वृक्ष चढेर फुल्छ
ऐक्यको डोरीमा ।

(१२)
एकको शासन संसार धाई
पहाड-बन-सागर छाई
एकको किरणमा ।
मुनालाई तारा, तारालाई मुना
विशाललाई चरा, चरालाई विशाल
प्रेमको मरणमा ।

(१३)
विरोधभित्र मधुर-साम्य
एकको शरणमा ।
संसार सारा स्वर्गमा उड्छ
एकको चरणमा ।

(१४)
एकको विस्तार, एकको रङ्ग
अनेक बनेको,
संसार देखें एकको शासन
जीवन मरणमा ।

(१५)
तर ती युगका अँधेरी आँखा
देख्दैनन् त्यो टूना ।
जो ताराभित्र भ्रातृत्व झल्काई
देखाउँछ नमूना ।
हाँगा है हाल्यो वृक्षले ठूलो
ठूला र सानामा ।
पक्षी है आए अनेक देशी
रङ्गमा नानामा ।
तैपनि यौटै स्वदेशी रङ्ग
गानामा, पानामा ।
मानिस हरे ! देख्दैन केही
गर्वको तानामा ।

(१६)
विश्वको ऐक्य बुझने जो जाति
तारामैं होला अँधेरी राती
अरूलाई आँधी छ।
ऐक्यको सुन्दर महिमा देखें
हृदयपत्र रङ्गाई लेखें
भन्नु नै ज्यादी छ ।

(१७)
लहर खेले नालामा हेर
वाग्मती जलमा ।
हजारतिर सिलि र मिली
मानो छ तिनमा झिलि र मिली
चञ्चल पलमा ।
तर ती खोज्छन् सागरको बाटो
त्यो कलकलमा ।
एकै नै दिलको ध्वनि छ सारा
ती जल जलमा ।
सबैको बाटो यौटै नै जानी
सुन्दर रेखा जीवनका तानी
धूलो र मैलो चालले छानी
होऊ हे भाइ ! कर्ममा ज्ञानी
संसारको थलमा ।
यो यौटा मधुर दिलको ऐना आँखाको जलमा ।

(१८)
हामी हुँ नशा, हामी हुँ अङ्गा
शरीर यौटैमा ।
दुई दिशा फर्की हेर्ने जो आँखा
देख्दछन् यौटै चीज है आखिर
एकको बोटैमा।
यौटै नै फूल, यौटै नै गन्ध
जीवनको बोटैमा ।
भारतको मुटु यौटै छ भाइ
भन्नलाई बसिन् शारदा मेरी
छन्दको ओठैमा।

(१९)
भन्न त भने धेरैले अघि
कानले सुनेथे ।
"हो हो” मा सारा बिर्सेर शिर
हल्लिदै गुमेथे ।
हजार साधु आत्माले रोई
पयरमा चुमेथे ।
तैपनि हरे । नदेखी भरे
आत्माले अनेक विरोध गरे
भारतको आँशु पीरामै झरे
अज्ञानका हुरीमा ।
सुन्ने जो दिल हो
हेर्ने जो जल हो
गर्ने जो पल हो
सत्यको ध्वनि लैजान्छ भनी
लेख्दछु धुरीमा ।

(२०)
भारतको फूटमा
सत्यको टूटमा
वैरी है वैरिन्छन्
आफूलाई सच्चा
नहुने कच्चा
भारतका बच्चा
लाई दु:ख धुरिन्छन् ।
गर्व र ज्ञान
चाचा हुन् जान
भारतको आत्मा यौटै छ भाइ
हामी छौँ सारा त्यसैका लागि
मपाईंको खाकमा
सत्यको धाकमा
हाम्रो छ जीवन ।
म ठूलो भन्ने
संसार मेरो भनेर गुन्ने
नगर भाइ ! म आफ्नो लागि
कसैले नभन ।
"अतीतको आत्मा छन्दमा बोल्छ
सबैले यो सुन ।
भाइ र भाइ पराई बन्दा
जल्नेछ गगन ।"

(२१)
तर यो काल
वक छ चाल
फूट र वैरमा ।
स्वार्थका खालि
पूजाका थाली
व्यक्तिका पयरमा ।
आफैलाई संसार
आफैलाई स्वर्ग
मतलबको शैरमा ।
तिमी र ममा एक तत्त्व छैन
भारत गैहमा।

(२२)
टुटेको चाला फुटेको प्याला
देखेर भारतको ।
आँखाले काला लोभका ज्वाला
दुश्मनका दल हेर्दथे तल
फूटमा लुट देखेर प्यारो
काकका आँखा
गिद्धका आँखा
चनाखा पारी भारतमा भारी
आँखाले स्वारथको ।
पश्चिम पहाडहरूका द्वारमा
असत्‌मा आफैं लुटिने आत्मा
देखेर भारतको।

(२३)
तर ती राजा विलासमा थिए
मदिरा मीठा गिलासमा थिए
कामिनी काञ्चनाऽभिलाषमा थिए
अँधेरी मजामा ।
वैर र गर्व नाशका रेखा
लेख्दथे तिनका टुटेका तनका
विचित्र धुजामा ।

(२४)
तिनलाई थियो मूर्खको धाक
अँधेरी फूर्ति फुलेको नाक
कामका ज्वालामा ।
मै विश्वजेता भनेर हिँड्थे
अज्ञानका चालामा।
आफैंमा लड्थे आपसमा छाती
रोपेर भालामा ।
मपाईंको सेखी
कलिलैदेखि
तिनलाई राख्थ्यो छटू र धूतार-
हरूको तालमा ।
के के न छौँका अँधेरी रौशका
फिलि र मिली महल बीचमा
साङ्ग्राका चालमा ।
गर्वको कालो तिलकलाई
कलिका भालमा ।

(२५)
एक जना थिए तिनका बीचमा
औतार उज्याला ।
विष्णुका मूर्ति वीरका फूर्ति
रूपका सुन्दर गुणका मन्दिर
उपमा अकेला ।
तिनको नाम
तिनको काम
भारतका प्यारा उज्याला आत्मा ..
ताराझैँ हाम्रा अँधेरी रातमा
रुलाउँछन् यस वेला ।
झिना यी तारमा छातीका भरमा
आँशुका बोलमा
भारतका मोलमा
गाउँछ भन्छ हृदय आज
मूर्ख छु भन्ने छोडेर लाज
सम्केर प्यारा पृथिवीराज
रातको यो वेला ।
सुन्नुहोस् सज्जन
हृदय मञ्जन
गरेर मेरो गीतको खोला
भिजाई परेला ।
सुन्दरको ध्वनि आएर गम्कोस्
अमृतको किरण लहरमा छम्कोस्
झ्याउरे भनी हृदयलाई
नगर्नोस् है हेला।