Last modified on 22 अगस्त 2020, at 22:41

प्रजातन्त्र / राहिमा आफरूज मुन्नी / सुमन पोखरेल

म आराधना गर्छु
दमनको मिहिन लेप लागेको प्रजातन्त्रको ।
बुझ्दछु,
विशिष्ठ प्रबुद्धहरूको कवितालाई दोष लगाउनु हुँदैन ।
पकाउनका लागि केही पनि छैन
तर कमसे कम आगो भर्रभराइरहन्छ
र त्यसै बापत तिरिनेछ गुइँठाको रिन ।
 
ए, भाग्यविहीन !
किन यस्तो अभद्रता ?
मुठ्ठी कस्यौ ? अब कसलाई बजाउनेछौ मुड्की ?

सुन, सिर्जनधर्मीहरू,
अहिलेका, उहिलेका सबैले सुन -
कहिलेसम्म नाचिरहन्छौ तिमी
पाखुरा उठाएर
आफ्ना खौरिएका काखी देखाउँदै ?

तिमीले परिवेशलाई भत्काएका छौ
र अब चाँडै नै तिम्रा गालामा सेनाले च्वाप्प म्वाइ खानेछ ।

प्रजातन्त्रको स्पर्श पाएका छौ तिमीले
के त्यही नै मनग्ये हैन र ?