प्रतिबन्ध : आफ्नै आँखाहरुमाथि / हरिभक्त कटुवाल
अनुराधा !
कतै फुल्नै नजानी अनकण्टार पनमा ओइली झरेका
फूलहरु जस्तै तिमी
मेरा सपनाहरु पति त्यस्तै
यहाँ सपना नदेख्नु रै'छ अनु !
कुनै दिन समुद्रका छालहरुसित खेल्न रमाउने मान्छे म
अचेल भागिहिँडछु प्रत्येक गहिराइदेखि टाढा
प्रत्येक अग्लाइदेखि टाढा
र सायद तिमीदेखि पनि टाढा !
यहाँ आनन्दका गीत कोही कसरी गाउन सकिरहेछन् कुन्नि
जहाँ एक मुट्ठी उज्यालोका लागि लाम लाग्नु पर्छ
मन्दिरका ढोकाहरुमा सधैँ
तर निराश फर्किनु पर्छ प्रत्येक साँझ
लाग्छ बेस्सरी थुकिदिऊँ ती सपनाहरुतिर फर्केर
र हिँडिदिऊँ ती सपनाहरुतिर फर्केर
र हिँडिदिऊँ मुर्कट्टाका पाइला चालेर
फेरि एकपल्ट अँध्यारैतिर ।
अनु ! विश्वास नै हुन छाडिसक्यो आफ्नै आँखाहरुमा
यसैले प्रतिबन्ध लगाइरहेछु यी आँखाहरुमाथि
खबरदार, त्यहाँ अब सपनालाई ठाउँ छैन !
त्यसैले मकहाँ आउने ए सपनाहरु हो !
तिमी कतै अट्टालिकाहरुमा गएर बस
कतै लाटोकोसेराका आँखाहरुमा ।