भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बादल लागेको आकाश / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


घाम पनि लाग्दैन
झरी पनि पर्दैन अचेल

बादलको सिरकमा गुटमुटिएर सुतिरहन्छ
दिनभरि सूर्य
च्याउँदैन आँखीझ्यालबाट पनि,

चियादोकान पनि सुनसान भइरहन्छ
स्कुलघर पनि उदास भइरहन्छ
बन्द छ चहलपहल
चौतारीमा खेल्दैनन् केटाकेटीहरू
साइकलको घण्टी बजाउँदै हिड्दैन हुलाकी
र सारङ्गी रेटिन्न आँगनमा
गुन्जिदैनन् काल्नामा लोक–भाका
र उज्यालोमा मुस्कुराउँदैन पहाड

बेला कुबेला सिरेटो चलेर
थर्काउँछ मुटु र उखेल्छ विरुवा
सुक्छन् मानिसका ओठमुख र पहेलिन्छन् अनुहारहरू

अन्यौलमा छ मौसमको भविष्यवाणी
कुन दिन फाट्ने हो यो बादल
र, उस्तै निर्मल देखिने हो आकाश ?