भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिदा हुँदाहुँदै / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तमाम झ्यालहरूले हेरिरहेजस्तो पनि लागिरहेकै हो
तमाम भित्ताहरूले सुनिरहेजस्तो पनि लागिरहेकै हो
त्यस बेला
ती सडक र पेटीहरूले बोलिरहेजस्तो पनि लागिरहेकै हो
आफ्ना आवरणहरू खोलिरहेजस्तो पनि लागिरहेकै हो।
 
मैले हिँडिरहे पनि
मैले अडिरहे पनि
तमाम
वृक्ष र चराहरूले
आकाश र ताराहरूले
वक्ष र चुराहरूले
           देखिरहेजस्तो पनि लागिरहेकै हो।
 
त्यो द्विविधामा
          अडूँ कि बढूँको
          उत्रिऊँ कि चढूँको,
तमाम बाटाहरू अगम्य लागिरहेको पनि हो।

केही फुटेका
केही टुटेका
केही चुक्किएका
          केही आकाङ्‍क्षाहरू पढेको पनि हुँ
          परिवेशहरूका अनुहारमा।
 
केही वाक्यहरूलाई छामेको पनि हुँ
केही शब्दहरूलाई चुमेको पनि हुँ।
 
आँखाहरूले बाटो रोके त पन्छाउनु पनि
मुटुहरूले बाटो छेके के गर्नु?
त्यसैले
ती झ्याल र भित्ताहरूलाई
नदेखेझैँ गरेको पनि हुँ।
 
त्यस बेला मेराविरुद्ध षडयन्त्र भइरहेझैँ पनि लागिरहेकै हो,
मेरा शब्दहरूमा मलाई प्रहार गर्ने सन्यन्त्र खोजिरहेझैँ पनि लागिरहेकै हो।
 
ती आँखा र हेराइहरूले
भावनाका फूलहरूको एउटा नदी कतै पठाइरहेझैँ पनि लागिरहेकै हो।
कल्पनाका सुगन्धहरूको एउटा पहाड कहीँ उक्साइरहेझैँ पनि लागिरहेकै हो।
 
त्यस बेला, मेरो मन मायाको आनन्दमा निदाइरहेझैँ पनि लागिरहेकै हो।
जीवनका संवेदनशील हाँगाहरू भाँच्दै
कुनै नीरस मोहले मलाई लिएर कतै गइरहेझैँ पनि लागिरहेकै हो।

ती क्षणहरूमा
मेरो मानस भोगाइका मरुभूमिमै सौन्दर्य फुलाउने आँट लिएर
बाँच्नको लागि ब्यूँझिरहेझैँ पनि लागिरहेकै हो।
 
म अहिले जुन ठाउँमा छु
नठान्नु होला
यहाँ म पैह्रोझैँ बगेर पुगेको हुँ
वा बादलझैँ बाफिएर।
 
आफ्नो कोमल मनमा
समयको तरवार रोपी
त्यसैको बिँडमा समातेर उक्लिआएको हुँ।
 
कसैले सम्झाए पनि नसम्झाए पनि
दुखिरहन्छ जीवनको एक अंश
मेरो छाती समाएर।