बेरामीको ओच्छ्यानबाट / दैवज्ञराज न्यौपाने
१.
भन्छौ म बिमारी छु,
भन्छौ म रोगको निरोध गरिरहेछु,
तर म भन्छु मेरा साथी !
म उपचारको ढाल लिई
मृत्युसँग खेलिरहेछु।
२.
साथी ! म ता लडाइँको मैदानमा गएको
एक सिपाही हुँ,
तिमीसँग बोलिरहने फुर्सद पो कहाँ छ र?
बोले शत्रुले गम पाउँछ, भागे जीवन जान्छ,
त्यसैले भन्छन्- मैले बोल्नु हुन्न,
त्यसैले भन्छन्- मैले भाग्नु हुन्न,
उफ् यो दोसाँधको जीवन
दिन नै कति उराठ लाग्दो छ,
क्षण नै कति चिच्याहट लाग्दो छ,
उफ् यो वेदनाको तुफान
यसकै उछ्वासमा
मेरो अतीतको परिश्रम र भविष्यको सपना
प्रगतिको पाइला पाइलामाथि
मेरै पर्सिको जाँच
केवल सुनसान छ, केवल सुनसान छ।
३.
यो संग्राम हो
आखिरी जीत ता एउटाको न हुन्छ
चढ्दा चढ्दै पहाड टुङ्गिएझैँ
गर्दा गर्दै एक दिन पुग्छ,
म पनि त लडाइँमा गएको सिपाही
मैले भाग्नु हुन्न,
मैले डर्नु हुन्न,
त्यसैले ढाल होइन साथी !
म त स्वयं तरवार बन्छु।