फुलेका छन् बगैँचामा फूलहरू उस्तै
डुलेका छन् पुतली मीठा रस चुस्तै
घमाइलो छ डाँडाकाँढा रमाइलो जङ्गल
मानिसको जीवनमा छैन किन मङ्गल
वसन्तमा कोइली गाउँछे वनभरि उस्तै
शिशिरमा चिसो बतास चलेकै छ सुस्तै
पानीखोला लुकाएर हाँसेकै छ जङ्गल
मानिसको जीवनमा छैन किन मङ्गल
वरपीपलु पौलाएर छाया छोडेकै छ
चुच्चा गाँसी गौँथलीले दिल जोडेकै छ
पाकी फल नुहेकै छ मनकारी जङ्गल
मानिसको जीवनमा छैन किन मङ्गल
असिनाले हिर्काउँदा पात खसेकै छ
जुनेलीले सुम्सुम्याउँदा प्रीति बसेकै छ
मानिसको बस्ती भयो डरलाग्दो जङ्गल
किन होला जीवनमा हुनै छाड्यो मङ्गल