भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरो सानो मालिक / सविता गौतम दाहाल
Kavita Kosh से
जौहरीको नजरमा नपरेको हीरा म
टल्कने पत्थर ठानेर खेलिरहेछ
मेरो सानो मालिक ।
ऊ आफुसँग मलाई च्यापिरहन्छ
एउटामा पसिना आएपछि
अर्को हातमा सारी रहन्छ ।
उ सधैं भयभीत छ
कतै उसको गुच्चा खेल्ने साथीले
देख्छ कि
देखेर माग्छ की
मागेर भाग्छ कि †
उसको प्रिय ढुंगा म
घंटौ निहार्छ
म्वाइ खान्छ
गोजिमा राख्छ
सुन्दा सिरानेमुनि लुकाउँछ
विहानै छामेर पक्का हुन्छ ।
आज मेरो सानो मालिक
रुँदारुँदा थाकेको छ
उ खाना खाइरहेको छैन
घुंकघुंक रोएको रोयै छ
हिजो मात्र उसले
ज्यान जोगाउन
मलाई गुमायो ।