भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मौन शोषकको कला हो / राजव

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मिलियन डलर, बिलियन डलर,
ट्रिलियन डलरबीच
सिर्फ बीस डलरले
निर्धन जर्ज फ्लोयडको ज्यान
धर्तीबाट खोस्यो
म आफ्नो आक्रोश पोख्न कला पर्खिरहन्न
चिच्याउँछु
ब्ल्याक्स लाइफ म्याटर

ह्वाइट हाउस
वालस्ट्रिटका सट्टेबाजहरूले
फालेको बीस डलरले
ल्याएको त्यो खैरे गोरो घुँडो
जसले नमरुन्जेल
आठ मिनेट छयालीस सेकेन्डसम्म
दाबेको थियो
जर्ज फ्लोयडको कालो गर्धन
त्यसको विरोधमा बोल्न मलाई
कुनै कला चाहिन्न

सर सास फेर्न सकिन
सर सास फेर्न सकिन
सर सास फेर्न सकिन
जति भन्दा पनि
सास फेर्न नदिने रंग विभेदले पोसेको
त्यो खतरनाक घुँडो पाल्ने
विधिको विरोधमा गर्जन मलाई
कुनै कलाले छेक्न सक्दैन
म चिच्याउँछु,
सम्पूर्ण छेकबार थर्किने गरी
ब्ल्याक्स लाइफ म्याटर

मर्दामर्दैको निहत्था कालो ज्यानको पुकारा,
आई कान्ट ब्रिद
आई कान्ट ब्रिद
सुन्न नचाहने क्रूर कान
मारिइरहेको कालो मानिस
हेरिरहन सक्ने त्यो भयानक आँखा
उसको गर्धन थिचिरहेको
गोरो छालाको घुँडो पालिरहेको
सत्ताको विरोधमा बोल्न
मलाई कुनै लालची सौन्दर्यशास्त्रीको पर्वाह छैन,
म कलाको दायराबाट बाहिर पारिएका
सम्पूर्ण पंक्तिहरूका साथ चिच्याउँछु,
ब्ल्याक्स लाइफ म्याटर
ब्ल्याक्स लाइफ म्याटर
ब्ल्याक्स लाइफ म्याटर

सत्तामा खतरनाक जनावरहरू छन्,
सीधै यसो भन्दा कलात्मक नहोला
तर, मैले सत्य भन्नु पर्छ,
सत्तामा खतरनाक जनावरहरू छन्
यिनले हाम्रो अन्न लुछिरहेछन्
यिनले हाम्रो काम लुछिरहेछन्
यिनले हाम्रो पसिना चुसिरहेछन्
यसो भनिरहँदा कला नहोला
तर, म यै लेख्छु, यै भन्छु
जति पनि शोषकहरू छन्
ती सब खतरनाक जनावरहरू हुन्

कलाले सामन्तको आँखा रमाउला
तर, गरिबको पेट भरिन्न
कलामा कम्पनीको मालिक मजा लेला
तर, मजदुर भोकै पर्ला
म तथाकथित कलाको परवाहविना चिच्याउँछु
ब्ल्याक्स लाइफ म्याटर

दास पुर्खाकी मेरी काली आमा भन्थिन्
मौन शोषकको सौन्दर्य हो, प्रतिरोध मेरो
म चिच्याउँछु
ब्ल्याक्स लाइफ म्याटर ।