Last modified on 29 जून 2017, at 21:38

यी हल्लाहरु हुन् तिमीले सुनेका / कृष्णहरि बराल


यी हल्लाहरु हुन् तिमीले सुनेका
कसैसँग मैले मुटु साट्या छैन
नपत्याए हेर चिरेर यो छाति
तिमीलाई कहिले मैले ढाँट्या छैन

यो मनमा तिमी छौ बचनमा तिमी छौ
तिमी स्वप्न बन्दै सजेकी नयनमा
म भेट्छु तिमी नै यी फूलमा बहारमा
यो निलो गगनमा यो शीतल पवनमा
यो विश्वास गरिदेऊ, तिमीलाई नसम्झी
कुनै रात मैले एक्लै काट्या छैन

म फुल्छु हँसिलो लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न
म भुल्छु मलाई ,खाली जिन्दगीमा
तिमीलाई भुल्ने सामर्थ्य हुन्न
यो विस्वास गरिदेऊ, तिमीलाई नसम्झी
कुनै रात मैले कतै काट्या छैन

शब्द – कृष्णहरि बराल
स्वर – आनन्द कार्की
संगीत – दीपक जंगम