सान्नानी !
आँशु पुछ
यो रुने बेला होइन ।
चारैतिर एकतमासले कोकोहोलो मच्चाउनु
आर्तनाद गर्नु
अनाहक चिच्याउनु मनासिब होइन ।
हेर त
तिम्रो जस्तै साथ छुटेको किनारा
अविरल बगिरहेको छ ।
हेर त
तिम्रो जस्तै टुटेको हृदय बोकेर
यो धर्ती अविचल उभिरहेको छ ।
हेर त
कति पीडा सहेर यो बतास कुदिरहेको छ ।
सान्नानी !
आफुलाई सम्हाल
यो विचलित हुने बेला होइन ।
हेर त
बिहान उदाएको घाम अस्ताईसक्यो
फुलेको फुल ओइलाईसक्यो
उडेको पुतली बिलाईसक्यो !
सान्नानी !
ए सान्नानी !!
यो विरहको गीत गाउने बेला होइन ।
यो त
जीवन लेख्ने बेला हो
यो त
जीवन पढ्ने बेला हो
यो त
जीवन बुझ्ने बेला हो ।
सान्नानी !
हेर त
मा .......थी आकाशमा
के चम्किरहेको छ !
देख्यौ ?
जून कस्तो हुन्छ !
०००