भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वैरागी काइँलालाई कवितापत्र / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी’
आफैँले टेकेको भूमिलाई निहुरिएर प्रणाम गर्छु
र, छुन्छु रक्सी
हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु
म आध्यात्मिक रक्स्याहा
रक्सीकै जल चढाएर भन्छु ‘ॐ सूर्यायः नमः’ ।

वैरागी काइँला ! तिमी कविताका हरफ–हरफमा मातेझैँ
मेरो देउताको थाप्लोमा ब्रान्डेड रक्सी छर्किएर बाँकी सबै पिएपछि
मेरो भूमेदेउता र म सँगै मातेका हुन्छौँ आनै पूजाकोठामा ।

काइँला ! ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’
भर्खरै पढिसिध्याएको छु
त्यसैले धङ्धङिएको म
सधैँझैँ बिहान जानुछ, पुरानो शहरजस्तो पुस्तकालय
पढ्नुछ, यस साता पत्रिकामा छापिएको सप्पै समाचार
र, खल्तीको लार्जपेग
पुस्तकालयको चौरमा बसी एक्लै पिएर फेरि फिर्नुछ भट्टी ।

भट्टीमा घन्किरहने रेडियोले नभनोस् आज यस देशको खबर
बरू तीव्रसँग कुनै रैथाने रक्स्याहाले भनोस्
‘भैँसी तस्करले सस्तोमा मासु बेचे
आज दिनभर मःमःको भाउ घट्छ ।’

काइँला !
तिम्रो कविता पिएर हृदय पोलेपछि रक्सी बेच्नेलाई सोध्छु
क–कसको आँसु बोतलमा जम्मा पारेर बेच्छौ रक्सी ?
यो तीतो रक्सीमा क–कसको खुन मिसिएको छ ?
यसमा कसरी आइरहेछ अपहरित नानीहरुको पिसाबको गन्ध ?
भरि गिलासमा निहुरिएर हेर्दा किन देख्छु
आँधीबेहरीले हल्लाइरहेको मेरो गाउँको नक्सा ?
मेरा पुर्खाहरुको अस्तित्व चाकाचुली खेलिरहेको बोतलमा
किन कुँदेको
बनारसभन्दा पनि उतै उड्ने बडेमान हवाइजहाजको चित्र ?

मेरो प्रश्नको जवाफ नदिनेकामा रक्सी नपिऊँ भन्छु, मन मान्दैन
यस सहरको बद्नाम जुवाघरको पेटीमा
दिउँसै एक लार्जपेग रित्याएपछि
कराएर भन्न मन लाग्छ–
‘मातेर सडकमा नकरा’ भन्दै मलाई गाली गर्ने को हो
त्यसलाई चिन्नु छैन
राष्ट्रप्रेमी हुन कसैको राष्ट्रियगान गुनगुनाउनु छैन
मेरो माटोको सिमाना चिनेर दुर्बल नागरिक कहलिनु छैन
बरू गर्वका साथ कहलिनुछ एक नामुद रक्स्याहा ।
 
सोझो खुट्टाले सोझो सडकमा हिँड्न सक्तिनँ
सोझो मान्छेको सोझो नाक देख्तिनँ
मसी पिएर कवितामा कलम मातेको देख्ने म
मन्दिरको देउता पनि मातेको देख्छु
भो ! अब रक्सी पिउन कविता पढ्नु छैन ।

ए कवि ! म एक रक्स्याहालाई जान्नुछ—
यो देशका जोगीहरु कविता सुन्छन्–सुन्दैनन् ?
यो देशका चोरहरु कविता बुझ्छन्–बुझ्दैनन् ?
काइँला ! तिमीले डाँकासभामा कहिल्यै कविता सुनाएको छ–छैन ?
तिम्रा कविता रक्सीसँग सितन बनाएर खान सकिन्छ–सकिँदैन ?

म एक रक्स्याहा
कुन लिङ्गमा पर्छु ?
कुन जातमा पर्छु ?
रक्स्याहा र कविको देश हुन्छ–हुँदैन ?
धर्म हुन्छ–हुँदैन ?

जब अर्को पेग थपेर जुवाघरको पेटीमा सुस्ताउँछु
नौ वर्षअघि हलोले कुटेर मारिएका मेरा बाउ
शत्र फुक्तै पशुपतिनाथ छिरेको किन देख्छु ?
पँधेरा जाँदा हराएका बहिनीहरु
सम्माननीयको कोटमा रूमाल भएर सिउरिएको किन देख्छु ?
दिव∙त छिमेकीको घर–बगैँचामा फल्ने रुद्राक्ष लगाई
जुवाघर छिर्दै गरेका भलाद्मीहरु किन देख्छु ?
 
ए कवि !
तिम्रा कविताका हरफमा
म उभिएको जमिन धाँजा फाटेको किन देख्छु ?

काइँला ! थाहा छ ? आज फागुन सात गते
सखारै भट्टीमा हाजिर छु
रक्सीमा आठौँ रङ मिसिएको इन्द्रेणीले घोचेपछि
चहर्याइरहेछ मेरो कलेजो ।

यही बेला मजस्तो रक्स्याहाको चित्त शीतल हुनेगरी
सुनाऊ न तिम्रो युगको प्रेमकविता !