सपना / मनप्रसाद सुब्बा
मन्चमा उभेर उसले घोषणा गर्यो :
डर अनि फिक्रीले गर्दा
वर्षौँवर्ष निदाउन नसकेका मान्छेहरू हो !
म तिमीहरूलाई ढुक्कको निद्रा दिनेछु
त्यो निद्रामा तिमीहरूले
मैले देखेकै सपना देख्नेछौ ।
भोलिपल्ट
यो सहरका मानिसहरूले मुस्कुराउँदै
एकअर्कालाई सोधे –
राती निद्रा पर्यो ?
मज्जाले निदाएँ नि ! सपना पनि देखेँ ।
कस्तो देख्यौ ?
अर्कोले कानमा गुन्गुनाउँछ सपना ।
अप्पुई ! मैले पनि त्यै सपना त देखेँ ।
अर्कोले पनि त्यसै भन्छ, अनि अर्कोले.. अर्कोले..
रातैपिच्छे यौटै सपना देखेर मक्ख पर्नेहरू
अब दिनमै पनि निदाउने भए
सडकमा हिँड्दा हिँड्दै पनि निदाउन थाले
निदाउँदै, सपनामै बोल्दै हिँड्नथाले ।
यसरी सडकै ढाकेर निद्रामा एकोहोरो हिँडिरहेको भीड हेर्दै
मन्चमा विराजमान मान्छे चैं अचेल
झलमल्ल मुस्कुराइरहन्छ ।
सपनाको रङ्गले छ्यापछ्याप छेपिएका आँखाहरूले
त्यो मञ्चको ठूलो पर्दामा
त्यै सपनाको अझ ठूलो रुप देख्छन् ।