साइत / गीता त्रिपाठी
वषौँपछि पूजा छ घरमा
प्रसाद बाँडिने आशमा छन्
उपासकहरू ।
अक्षताहरू पोखिनु हुँदैन
दियो निभ्नु हुँदैन
चाहिएको छ एउटा ठूलो टपरी
वरिपरि अक्षता रमाउनेगरी
बीचमा दियो हाँसिरहनेगरी
राम्ररी गाँस्नुपरेको छ-
आँधी-बतासले
नउडाउनेगरी ।
पालुवाबाट भर्खरै किशोर भएका
किशोरबाट भखरै युवा भएका
युवाबाट बिस्तारै प्रौढ भएर
अनुभवले दरिएका पातहरूले
भरिएका छन् डालाहरू ।
भीड छ आँगनमा
नाङ्लाभरि छन् पूजाका सामग्रीहरू
धुप-बत्तीहरू
नैवेद्यहरू
जल-कलशहरू
चाहिएको छ एउटा चोखो टपरी
कसले लगाउने लाफा ?
कसले ठड्याउने कुनो ?
टुक्रिन मान्दैनन् बषौँ ओसिएका सिन्काहरू
गाँसिन मान्दैनन् बषौँ सुकेका पातहरू ।
साइत बिस्तारै सङ्घारबाट
हात हल्लाउँदै छ विदाइको
कसले गाँस्ने टपरी ?
प्रसाद पर्खिरहनेको भीडमा
खोइ ? टपरी गाँस्ने कहाँ छ ?
सिन्का भाँच्ने कहाँ छ ?
वषौँपछि पूजा छ घरमा
पूजाको साइत छोप्ने कहाँ छ ?