भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिमलको गीत. / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यो हरियो चौर
उसैको नामले बनेको छ
उसैको आँखाबाट बगेका छन् ग ङ्गा र जमुनाहरू
मन्त्र द्रष्टाहरू त्यहीँ सन्ध्या स्नान गरिरहेछन्
 
निर्जन बाटोमा उभिएको
कैयौँ युगको संवाहक
चारैवेदको साक्षी ऊ
चारैतिरबाट शून्यताले घेरिएको छ
उसलाई कलङ्कित बनाउनेकै नाममा
शरीरभरि काँढा उमारेको छ
उपहासलाई पूर्वाग्रहमा साँट्न नजान्ने ऊ
पापको फल भन्नेहरूलाई नै
पापको सजायँबाट जोगाइरहेछ
 
यो उराठ लाग्दो चैतमा
उसैले जोगाएको छ समयको ढुकढुकी
जस्तै उपमा दिए पनि
रातो फुल्न छाडेको छैन ऊ
उसैको प्रेरणाले आजपर्यन्त म पनि
यो सहरमा बाँच्ने साहस बटुल्दै छु !
 
पण्डितहरू वैतरणीको कथाले
रक्ताम्मे लेख्छन् उसको इतिहास र
अवज्ञा गर्छन् पूजाका निम्ति उसको फूल
 
कहिल्यै नथाक्ने शून्य आकाश
उसैको अनन्त तिर्खाले बनेको छ
त्यही आकाशको ठीक तल
मानिसका तिर्खाहरूलाई तृप्ति दिँदै
अर्को आकाश- बगिरहेछ ऊ बतासमा
सकेजत्ति सोहरेर आकाश हत्केलाभरि
रच्दैछन् तथाकथित अमरताको
नयाँ मृत्युञ्जय मन्त्र कोही
 
म पनि सिमलको एउटा फूल !
रचिदिन्छु आफ्नै दुःखको गीत र समर्पण गर्छु 'उसलाई'-
     सिमलको फूलसँग जीवन साँटेर आएँ
     सुखैमा छु भनेर उसलाई ढाँटेर आएँ...।