Last modified on 17 फ़रवरी 2022, at 15:23

सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ / अम्बर गुरुङ

सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ,
किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ

हामीलाई यस्सै गिज्याई बेलाले केही भन्दैछ,
जलेका लाख मुटुलाई काँडाले यहाँ उन्दैछ
सुनेर केही बुझ्यौ कि पीरले छाती पगाली
धिक्कारी देला युगले दुर्बल सम्झी नेपाली

देउरालीबाट कुर्लेर पहाड पाखा थर्काऊ
पीरले त्यसै बगेका हजार मानव फर्काऊ
छातीमा पीर मिचेर, आँखामा आँशु लिपेर
मनको घाउ सुक्दैन हाँसोले बिचै थिचेर

लडेर मर्न हामीले भुलेका छैनौँ भनन
रगतको गोला मुटुमा सुकेको छैन भनन
आलै छ रगत माटोमा कलुङगा कहाँ बिर्सन्छौँ ?
नेपाली गौरव उचाल्छौ बलभद्र कहाँ बिर्सन्छौँ?