सुनेको त हल्लै न हो
विश्वास हुन्छ देखेपछि
कहाँ हुन्छ मिलन त्यसै
भाग्यमा नलेखेपछि
ढाके पनि आकाशले धरतीलाई कहाँ छुन्छ
बाँधे पनि पुल कहाँ दुई किनार एक हुन्छ
भत्की जाने पहिरो न हो
जताततै टेकेपछि
कहाँ हुन्छ मिलन त्यसै
भाग्यमा नलेखेपछि
फुले पनि कहाँ अड्छ सबै फूल बोटभरि
असिनाले झारिजान्छ वसन्तमै चोटपरी
उडी जाने वाफ् न हो
तुषारोले सेकेपछि
कहाँ हुन्छ मिलन त्यसै
भाग्यमा नलेखेपछि