भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्थगन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अल्झिएको छ हिँड्न लागेको हिँडाइ
रोकिएको छ भेटिन लागेको भेट
थन्किएका छन् मानिसका नियमितताहरू ।

खुस्किएर लत्रिएका छन्
चाहिने भन्ने ठानिएका हतारहरू
टाढिएर छट्पटाएका छन् रहर गरिएका अङ्कमालहरू र
फेरिएर विशृङ्खलित छन् मानिसका कर्मका चालचलन ।

हिँड्न छोडेका छैनन् तर उमङ्गहरूका पाइलाले
बल्न छोडेका छैनन् आशाका उज्याला किरणहरूले
निदाएका छैनन् सयौँ विकल्पका लाखौँ झ्यालढोका ।

बदलिए होलान् दृश्य र रङ्गहरू
छेकिए होलान् हिँडाइ र बाटाहरू
तर
स्थगित भएको छैन जीवनको अविच्छिन्न गति ।