भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नीला फूल र पहेँला पातहरू / कणाद महर्षि

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:53, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कणाद महर्षि |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आकाश मन पर्छ, मलाई सागर मन पर्छ
मन पर्छ मलाई किनभने
मन–मन उड्न, मन–मन डुब्न पाइन्छ

मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा
मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा
 
मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ
किनभने त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ

मन परेको आफ्नो वस्तुलाई, फूल भन्न रुचाउँछु
मलाई नीला फूलहरू मन पर्छ

फूलहरू शिरमा—
मन परेका मनका फूलहरू मनका ईश्वरमा
मनका ईश्वर मलाई मन पर्छ, किनभने
त्यसमा मूर्ति हुँदैन, आकार हुँदैन
त्यसैले त्यो आकाश हुन्छ, आकाश मलाई मन पर्छ—
त्यसैले त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ

मेरो प्रिय रङ्ग नीलो, यो भूमिलाई
मनको ईश्वर, यो भूमिलाई
मनको आकाश, मनको सागर यो भूमिलाई
मेरो मनको फूल यो भूमिलाई
जो नीलो हुन्छ, त्यो मेरो मन हुन्छ

तनले के गर्छ, त्यो लासको पनि हुन्छ
सुकेको पहेँलो पातको पनि हुन्छ
जे गर्छ त्यो मनले गर्छ
मन सधैँ तरुण हुन्छ
मेरो मनको तरुण यो भूमिलाई।