Last modified on 1 जून 2017, at 19:40

अँध्यारोका विरुद्ध / निमेष निखिल


प्रश्नहरूका आँखाले एकोतार लखेटिरहेका बेला
म जीवनको भिरैभिर दौडिरहेछु।
 
आँखाभरि प्राचीन ब्ल्याक एन्ड ह्वाइट सपना
र पाइलैपिच्छे मृत्यु बोकेर
कलिला सपनाका कोपिला कुल्चिरहेछ समय
एक आङ बासी घाम ओढेर
उसै गरी सुस्केरा गाइरहेछ आस्थाको हिमाल
कामदेव आँखाहरू अझै पनि सुम्सुम्याइरहेछन्
अर्धनग्न किशोरी―अवयवहरू बिच सडकमा
दुखका जुलुसहरू आइरहेछन् मौनता ओढेर
दुखका जुलुसहरू गइरहेछन् मौनता ओढेर।
 
मध्याह्नमै हराएको छ शिरमाथिको सूर्य एक्कासि
चोक―बजार―गाउँ―बस्तीदेखि मनसम्मै पोखिएको छ― अँध्यारो
केही देखिएको छैन अँध्यारोमा : अँध्यारोबाहेक
सबै थोक हराएको छ अँध्यारोमा : अँध्यारोबाहेक
त्यसै अँध्यारोभित्र कतै म खोजिरहेछु मान्छे
अँध्यारोभित्रै कतै खोजिरहेछु देश।
 
अँध्यारोमा एक अँजुली हिमाली शुभ्रता ल्याएर खन्याउनु पर्ने
छर्कनुपर्ने पर्ने एक टोकरी बिहानी किरणहरू
अलिकति इन्द्रेणी उज्यालो मिसाएर
रङ्ग्याउनु पर्ने कालो अँध्यारोलाई उज्याला रङहरूले।
 
म हारगुहार गरिरहेछु― समयसँग
विडम्बना! आजैदेखि समय सायद―
अनिश्चितकालीन बिदामा बसेको छ।