Last modified on 24 जुलाई 2016, at 22:07

अन्तरिम नोस्तालजिया / मोमिला

हरेक बिहान म
अकारण
आफ्नै सपनाहरूको कैदी बन्छु
तर नजरमा मलाई
अपराधी चिनिन मन्जुर छैन ।

अहिले म
निगरानी आँखा छलेर
बेतोड भागिरहेछु
मेरै मनको सुदूर प्रदेशतिर
जहाँ यादहरूको चिहानघारी चिनिनेछैन ।

लाग्दै छ-
यतिखेर गुलाफका नजरबन्द ओठहरूबाट
पीडाको बहुरूपी गन्ध फैलिरहेछ
हुन सक्छ-
यसरी नै मान्छेको चेतना
आफ्नै मनको ब्ल्याकहोलमा
विरूपाक्षझैँ
आधा फसिरहेको हुन्छ ।

अन्तरिम नोस्तालजिया !
जीवन साँच्चै नै
साहै भोग्नलायक छ ।