भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्तिम आँसु / माधवप्रसाद घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्‍यौ
आमाको ममता भुलेर कमरी माया मलाई गर्‍यौ
छातीबाट झिकेर प्राणमारिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

“ख्वै छोरीहरु छन कता, म त गएँ, सबै माइती छन् कहाँ
प्यारा, यत्ति रहेछ भेट, टुहरी हेरेर बस्नु यहाँ ।"
धोको यति कहेर के हृदयले उल्टी रहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

मैले सोधिनँ-अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ- प्राण जान कतिको बाधा परेको थियो
हेरें टुल्टुल खालि दीन मुखमा हेरी रहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्के फुट्न सकेन वालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कमरी आत्मा मिलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

गर्थ्यौं दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ-"मै पहिले मरूँ हजुरको प्यारो यही काखमा "
साँच्चै भाग्यवती सती हृदयकी सच्ची मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती निर्मल जूनको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

तिम्रो रूप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जाने छन् अनि बिर्सिँदै गुन पनी यो बैगुनी विश्वमा
बिर्सी बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्‍यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

देखिन्छन् दिनरात खालि रसिला आँखा म हेरूँ जहाँ
तिम्रो अन्तिम कालको हृदयको यो दान राखूँ कहाँ ?
चिम्ली पिल्पिल ज्योति भूमितलको तारा हरायौ कहाँ ?
तिम्रो जीवनको कथा छ दुइटा थोपा गुडेको यहाँ ।

यो तिम्रो दिलको रहस्य अघि नै थाहा भएको भए
चिम्लेका पनि बौरिएर रसिला आँखा खुलेका भए
अर्कै मूल फुटेर मुग्ध दिलमा के के म गर्ने थिएँ
किल्ली आज खुल्यो, सखी, गइसक्यौ आजै, म जिल्ली रहें।

पृथ्वीमा जब निस्सहाय ढलुँला ताकेर आकाशमा
आँसू भैकन आउलान् नयनमा तिम्रा सबै सम्झना
हेरौली अनि स्वर्गबाट दिलको, हे देवि, मेरो मुख
पाऊँ चिम्लन अन्त्यमा पलक त्यै हेरेर तिम्रो मुख ।

.......................................
साहित्यस्रोत, १।४, श्रावण २००४