Last modified on 16 अगस्त 2017, at 15:31

अन्तिम क्षण / विप्लव प्रतीक


यतिखेर
म मृत्युशैयामा छु
मर्दैछु म केहीबेरपछि नै
म, मरणासन्न छु ।

मृत्यु भोग्नुपर्ने अवस्था कति गाह्रो हुन्छ
त्यही गाह्रो म भोगिरहेछु
तर, थाहा छैन किनहो
त्यसैमा आनन्द छ मलाई ।
केही बेरपछि नै
म तिम्रा बन्धन, जिन्दगीका बाध्यता र समाजका औँला
सबैसबैबाट बन्धनमुक्त हुनेछु ।

र, अहिल्यै म देखिरहेछु
कति आँखाहरू रोइरहेछन्
र कति आँखाहरूचाहिँ
मनमा खुसी हुलेर
केवल आँसु बगाइरहेछन्।