भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अपेक्षा / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


विजन वनका बाँसुरीका डाक
उडेर आएछ, उत्तर पवनमा
चित्त-देह आकुल गरेर-
अँध्यारोमा, अवगुण्ठत तानी
पुष्प-माला सह सुरभित शरीर
रमण-आतुर रमणी ऊ
जाँदै छे होला
कसको अभिसार ।

पूर्व गगनका मसृण चन्द्र
कृष्ण,-पक्ष रात
चियाउँदै हेर्छ पृथिवीतिर
हिंड्छे को ऊ आँचल छरेर
सुगन्धसुरभि पछाडि, सिञ्‍चन गरेर
उत्तर-समीरण- वेग
उत्तर- आयन दिक्;
कसको अशरीरी कायाको सुवासले
व्याकुल भई उठ्छ मन
मांसल देहको
अति अभ्यन्तर,
यो जो अहो ! कुन अभिसारिका
बहँदै गई
मेरो छेवैबाट ।

त्यही अ-रुप देहको
सुबासमा आकुल
भएर उठ्छ प्रण
त्यही अ-रुपाको अरुप भावनामा
मिश्रित भएर
दूरागत, बाँसुरीका तान
मन उडाई, लगिदियो
माटाको शरीर रह्यो स्थविर
उपेक्षाले छाडेर, माटाको सङ्गीत अनि
मधु-मालतीका सुमधुर घाण ।
वंशवनका निविडमा
मरीमरी, जूनकिरी उडेर
खोज्दै छन् उसैलाई, छरिएर चारैतिर
पूर्ण प्राण मेरो, चूर्ण भएर
बतास- आकाशमा जाँदै छ उडेर ।
मेरो अभिसार
आउँछे ऊ कहिले
मलाई कि चिरोन्मुख भई
रहनै पर्छ पर्खेर ।