Last modified on 8 मई 2017, at 14:32

अरण्यगाथा / राजेन्द्र भण्डारी

ठीक मेरो मस्तिष्कबाट सुरु भएर
तिमीमा टुङ्गिन्छ
यो जङ्गल ।

त्यहाँ कति छन् बाघ र भालु सन्देहका
हामीलाई नै थाहा छैन ।
त्यहाँ कति स्यालहरू छन् छलका
हामीलाई नै थाहा छैन ।
गर्जिने गर्छन् वरिपरि अविश्वासका सिंहहरू
तिनका गुफा कहाँ छन् ?
हामीलाई नै थाहा छैन ।
आनन्दका मजुर
अनि प्रेमका चखेवा कति छन् ?
 कति छन् डाँफे–मुनाल हार्दिकताका ?
 हामीलाई नै थाहा छैन ।
आफैभित्र गुजुल्टिएर अलमलिएका
जङ्गल भयौँ तिमी र म ।
बिर्सनुपर्ने कुराजत्तिकै नजिक
अनि फेरि त्यत्तिकै टाढा भयौँ तिमी र म ।
तिम्रो र मेरो सम्बन्धको वनमा
कहीँ–कतै फलेका होलान् मीठा–मीठा बयर,
अमारो, अम्बक र नसपाती ।
कहीँ–कतै नुहेका पनि होलान् लटरम्म भएर
अनार, अङ्गुर र ऐँसेलु पारस्पर्यका ।
तर हामीलाई थाहा छैन ।

हामीलाई यत्ति थाहा छ
कि एउटा सिंह सधैँ गर्जिरहन्छ
तिम्रो र मेरो बीचमा
त्यो किन गर्जिरहन्छ ?
हामीलाई नै थाहा छैन ।