Last modified on 4 सितम्बर 2020, at 20:03

अर्को गति छैन / माधवलाल कर्माचार्य

खालि माया र प्रेमको निम्ति जन्मेकी हौ, हे फूल !
तिम्रो अर्को गति छैन ।
तरुणी नारीले आफ्नो कोमल हातले चुँडाली
तिमीलाई आफ्नो कालो चुल्ठोभित्र घुसार्दा, हे फूल,
मनमा केही नमान !
तिमीलाई या त श्रद्धा र भावनाको साक्षात् रूप भै
भक्तहरूको फुक्का हातबाट झर्नुपर्दछ
या त सुख र सौन्दर्यको अतृप्त तृष्णा भै
सिंगारको रूपमा बस्नुपर्दछ।
भमरासंग रसरंग गरी
हावासंग झुली केलि गर्ने मनसाय हो भने, हे फूल,
तिमीले जंगलमा अन्कन्टारमै फुल्नुपर्दथ्यो !
तिमीले सम्झनुपर्दछ
मालीले साँझ बिहान मल जल दिई तिमीलाई हुर्काएको
तिम्रो आफ्नो निम्ति होइन ।
हे फूल,
खालि माया र प्रेमको निम्ति नै
तिमी यहाँ जन्मेकी हौ।
तिम्रो अर्को गति छैन।
................................................
भानुभक्तप्रति-बाट, २०१५ / रचनाकाल २०१४