Last modified on 16 अगस्त 2017, at 15:32

असन्तुष्टि / विप्लव प्रतीक


सोच्तछु, किन बाँचिरहेछौँ ?
कुन बाटो हिँड्न ? कुन मान्छे चिन्न ?
कहाँ हिँडिरहेछौँ हामी, कुन देश चिन्न ?
हाम्रो अस्तित्व किन यस्तो छ ?
हाम्रो अस्तित्व किन बेग्लै हुन सकेन ?
जुन जन्म हाम्रो अवश्यम्भावी थियो
त्यो जन्म किन बदलेन ?

तर हामीले चाहेजस्तै हामी भएको भए
त्यसको विपरीत किन भएन ?

हामी मान्छे अनौठा छौँ
हामी जे छौँ
त्यो होइन भन्ठान्छौँ
हामी जे छैनौँ
किन भएनौँ, विरोध गर्छौं
सायद मान्छे एउटा असन्तुष्ट प्राणी हो
अनि आदिदेखि अन्त्यसम्म मान्छे छ र हुनेछ असन्तुष्टै,

सृष्टिका लागि, प्राप्तिका लागि
सम्भवतः अपरिहार्य छ असन्तुष्टि ।