Last modified on 1 जून 2017, at 20:23

असहज यात्रा / निमेष निखिल


हामी सजिलै यहाँ आइपुगेका होइनौँ।
 
निराशाहरूलाई भत्काउँदै हिँड्यौँ
आँसुहरूलाई कुल्चिँदै हिँड्यौँ
हत्केलाभरि आशाका गुराँस फुलाएर हिँड्यौँ
माटोभरि आस्था फलाएर हिँड्यौँ
अवरोधहरूलाई नाघेर हिँड्यौँ
अनास्थाहरूलाई लत्याएर हिँड्यौँ
 
हामी सजिलै यहाँ आइपुगेका होइनौँ।
 
अघोरी पहाडहरूलाई झुक्याएर हिँड्यौँ
काउसोका लोलाहरू पन्छाएर हिँड्यौँ
बेथितिहरूलाई उछिनेर हिँड्यौँ
अकर्मण्यताहरूलाई उधिनेर हिँड्यौँ
सेता हात्तीहरूलाई धपाएर हिँड्यौ
निरङ्कुशताहरूलाई चपाएर हिँड्यौँ
 
हामी सजिलै यहाँ आइपुगेका होइनौँ।
 
र पनि रोकिएको छ हाम्रो यात्रा यति बेला
आफैसँग अविश्वास गर्दै छौँ हामी
स्वार्थको खाडलतिर झर्दै छौँ हामी
लाचार र निरीह भएर
आफैसँग खोसेर अर्काले आफैतिर फ्याँकेका
जुठा अन्नका दाना
भोकाएका चल्ला झैँ चर्दै छौँ हामी।
 
र पनि यात्रा त हिँड्नै छ फेरि
र पनि विसङ्गतिहरू गिँड्नै छ फेरि
समय चाल मारेर लिँदै छ हाम्रो सहनशक्तिको परीक्षा
सयम भड्काउँदै छ हामीलाई हाम्रै विरुद्धमा
उभिन खोज्दै छ विभेदको खाडल भएर समय हाम्रै अघि।
 
अब चिन्नु छ समयका कुटिल गोटी चालहरू चनाखो भएर
छाम्नु छ इतिहासका पाइलाहरूको पदचाप
सम्झनु छ हामीले छिचोलेको कष्टपूर्ण बाटो
ब्युँझाउनु छ समयले पाइतालामा दागेका घाउहरू।
 
भुल्नुहुन्न
असहज नै हो यहाँसम्मको यात्रा
हामी सजिलै यहाँ आइपुगेका होइनौँ।