Last modified on 3 मई 2020, at 17:40

आँखाहरू सित मैले / ईश्वरवल्लभ

आँखाहरू सित मैले धेरैधेरै प्रश्न गरेँ
केही थाहा नपाई मैले यसलाई माया सम्झेँ

कतिकति रात सित रात बनी टोलाइरहेँ
मीठामीठा पीडाहरू मलाई नै गिज्ज्याइरहे
प्रश्नमा मैले प्रश्नै पाएँ अलमल्लिई भावनाहरू
केही सम्झी, केही झस्की, त्यसलाई प्रीत सम्झेँ

घामछाया यो जीवन सम्झी, भूलिदेऊ पीर जति
बिहानीको नयाँ रङ्ग, रङ्ग्याइदेऊ जीवन फेरि
प्रीतीका यी फूलहरू थाहा नपाई फुलेछन् यहाँ
ओइलाई झर्ने हो या फूल्ने अजम्बरी मैले सम्झेँ