भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आजको तन्नेरी / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:03, 26 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


 गति जिन्दगी
बग्नु पर्छ यहाँ खोला जस्तै,
सङ्घर्ष जिन्दगी
बढनु पर्छ यहाँ खोला जस्तै,
रोकिनु मृत्यु
लम्पसार निश्चल पहाड जस्तै,
भत्किनु मृत्यु
पहिरो जाने पहाड जस्तै,
बग्नदेऊ तन्नेरी जिन्दगीलाई
यसले सिँच्नु पर्छ उजाड मरु-प्रान्त
जो छाती-छातीभरि विस्तृत छ
जो आँखा-आखाभरि विस्तृत छ
यसले जित्नु पर्छ मृत्युलाई
जो सँघार-सँघारमा तैनात छ
जो पाइला-पाइलामा तैनात छ
अब यहाँ कुनै तन्नेरी कसैको लास कुरेर जिउँदैन
अब यहाँ कुनै तन्नेरी कसैको लास भित्र जिउँदैन
अब यहाँ कुनै तन्नेरी कसैको लास बोकेर जिउँदैन
जुर्मुराउँछ उसका पाखुराहरुमा तन्नेरी बल
ऊ मृत्युबाट सम्पूर्ण मुक्त भएको छ
उसलाई पियारो छ उसकै मौलिक इतिहास
उसलाई पियारो छ उसकै मौलिक जिन्दगी
उसलाई पियारो छ उसकै मौलिक प्रगति
उसले जिउनु पर्छ उसकै मौलिकतामा
त्यसैले ऊ गति खोज्छ आफ्नै पहाडी खोलाहरुमा
त्यसैले ऊ मृत्यु जित्छ आफ्नै पहाडी जिन्दगीमा
मानौं उसलाई थकाइ नै लाग्दैन
ऊ बगिदिन्छ अघि
अघि
अघि
ऊ बढिदिन्छ अघि
अघि
अघि ।