Last modified on 7 मई 2017, at 15:51

आदिम सडक / पदम छेत्री


मेरा कैयौँ–कैयौँ योजना
र परिकल्पनाहरू
अनि, यो आदिम सडक ।

नियतिको बृहत् दैनिकी
त्यहाँ सङ्कलित
मेरा भावी यात्राविवरणहरू
गन्तव्यतिर लम्किरहेका
मेरा एक जोडी थकित पाइतालाहरू
र इतिहासका असङ्ख्य, अमेट पदचिह्रनहरू
अनि, यो आदिम सडक ।

उफ्।
निस्पट्ट अन्धकार/अनिश्चितताको
तीखा–तीखा रोडाहरू/विपदाका
विषाक्त वायु/उपेक्षाको
र कालो छाया/आशङ्काको
अनि, यो आदिम सडक ।

आह ।
न्यानो काख
निधारभरि टीका
अनि, थाप्लाभरि आशिष्/ममताको

कलिला हात
सयपत्रीको माला
अनि, आँखाभरि श्रद्धा/आस्थाको
 कुसुमित यौवन
अँगालोभरिको साथ
सुषमाले चुमेको उन्मादित रात
कण–कण पराग/प्रणयको

धमिराले खाएको मूल खाँबो
‘म’ लाई पालो दिने कलिला काँधहरू
आसिला स्तम्भहरू/आगतका ।

दुःखका कण्टकमय घारीहरू
सुखका शीतल छहारीहरू
विस्तृत सागर/अतीतको
अनगन्ती छालहरू/स्मृतिका
र निरन्तर अग्रसर रहस्यतिर
मेरा प्रबल जिजीविषाहरू
अनि, यो आदिम सडक ।

उफ्। बीभत्स ।।
ओइलिएर झरिसकेका आशाका शिरीष र बाबरीहरू
चिहानमनि गाडिएका अतीतका कथाहरू
ह्रवारह्रवार्ती सल्किरहेका इतिहासका पानाहरू
कालयज्ञमा होमिएका मांसपेशीका चरु ।

र,
अथाह जलधि/अनन्त आकाश
कुइरोले ढाकिएको
अज्ञात लक्ष्य
तथा
गन्तव्यतिर लम्किरहेका
मेरा एक जोडी थकित पैतालाहरू
अनि, नियतिले खनिदिएको
यो आदिम सडक…