Last modified on 25 जुलाई 2017, at 15:35

आफ्नो कोही साख छैन / हरिभक्त कटुवाल


मुख लुकाई पीर रुन एउटा न्यानो काख छैन
यत्ति धेरै मानिस छन् आफ्नो कोही साख छैन ।

मेरो कथा नटुङ्गिदै तिमी कतै हिँडिदियौ
सम्झी रुन हृदयमा पीर एउटा छोडिगयौ
बाँकी कथा सुनिदिने अर्को कोही साथ छैन
यत्ति धेरै मानिस छन् आफ्नो कोही साख छैन ।

हिँड्दा-हिँड्दै कहिलेकाहीँ बाटो आफैँ हराइदिन्छ
हाँस्न खोज्दा मुटुको घाउ कता-कता चहराइदिन्छ
गहभरि आँसु त छ पुछिदिने हात छैन
यत्ति धेरै मानिस छन् आफ्नो कोही साख छैन ।