Last modified on 11 फ़रवरी 2022, at 15:23

आफ्नो घर / लक्ष्मीप्रसाद देवकोटा

विचार! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।
 
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको।
 
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल।
 
फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर,
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर।
हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका।
 
मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर
म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर।
प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर।