Last modified on 20 मई 2017, at 00:06

आर्यघाटतिर (विषादिका) / लक्ष्मीप्रसाद देवकोटा

क.
प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान !
आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा !
किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान !
रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा !

ख.
निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास !
दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी !
उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको यौटा दास !
भ्रमण–बिसाउनी आर्यघाटमा मै पनि घोरिरहेछु बसी !

ग.
बादलको त्यो वाष्पिल जीवन पर्वतमा जो अवलम्बित
अनलाहुत भएर खरानी–रङ्गमा परिणत, हुन्छ विलीन !
परिवर्तनको करले अगोचर, रुपरागले चिररञ्जित
दृश्यपटमा हुन्छ, मिटाई सजीवमा अब ! जगत् मलिन !

घ.
दूर घण्टा बज्दछ घनघन, सविलम्ब प्रतिध्वनिको गूँज !
किरणमुखी यो जगतीतलको मानो दैनिक निधन ध्वनि !
अजर अमरहरु, साक्षी दिविमा बिन्दुदृगी छन् ! टप्के बूँद !
मृत्युञ्जय छन् समाधि लिँदा अब मृत्यु उपर औ स्वर्ग मनि

ङ.
सारा चहलमहलमा आउँछ ढल्की बाक्लो चिर छाया !
निशिको क्रन्दित तीखो अश्रुत सुरझैँ चल्दछ कृष्ण चमेरो !
पाषाण बन्दछन् नीरव मूर्ति देवताका दायाँ बायाँ !
शिशिरारण्य परेको शिशुझैं आत्मा रोई बस्दछ मेरो !

च.
को छ मलाई बुझाइदिने यो रुदित पहेली इतिहास !
जगतीतलको, मिरमिर मेरो चेत अँगालो घात दिने ?
आँशु–बाटुला ज्वलन उडु छन् टिलबिल पार्दा नीलाकाश !
भाषालाई अशक्त भनीकन मौन छटपट मात्र लिने !

छ.
यस जीवनले जति बोले पनि प्रलय सुगम्भीर छ नित चुपचाप !
राजा जस्तो, क्षण क्षण–छटपट तृष्णा कुलगति जनअघि खास !
आत्मविश्वास–सुतृप्त छ, साम्राज्य बुझेको संसार सताप !
प्रकृत हारले विहार थकित सब जीवन बन्छन् आखिर दास !

ज.
तैपनि हामी विद्रोही सरि फारी झर्छौ उसको महोदर
किन ? किन ? यसरी ? के अभिलाषा ? किन यो हाम्रो क्षणिक विलास ?
शीतविन्दुको किन यो झिलिमिली शिशिराभिमुखी दलमा सुन्दर !
किन क्षणहरुको छोटो, मीठो, खुसखुसहरुमा मात, मिठास ?

झ.
जललहरीझैं जल–लहरीकन ढकेलिरहेछन् पुस्ता अविरल !
ज्योति परेको जलकणिकाझैं ताज र विद्या हुन्छन् विलीन !
जलभुँवरीझैँ सभर भए कति ! गतिबाधक भै विविध उपल !
छैन सुकेको तर यो खोलो रोदनमा ली जीवन नवीन !

ञ.
यस्ता खोला तर कति आए ! कति सुक्दा छन् बारबार !
बालुवाका दाना अनगिन हेर गगनमा मिरमिर राश !
त्यो स्वर्गमा पनि सुक्छ कुनै दिन, निभ्ला बत्ती सरि संसार ।
परिवर्तनको पद–धूलीमा कण–कीटाणुको छ विलास !

ट.
संसार निलीकन तिमिर बताउँछ अन्तहरुको इतिहास !
कालो पर्दा ओर्ली छोप्दै छ इन्द्रियगोचर नाच अपार !
यसको पछाडि नीरवताको साम्राज्य अतट औ निश्वास !
के अभिप्राय छ यस जीवनमा ? रुन्छ नपाई सरिता–धार !

ठ.
आए साधु, मशीहा बहुविध, प्रात, प्रातका किरण सरि !
झल्के क्षणभर, वरपर पारी चकित, फिँजारी अमृताशा !
ताजा, सेतो, धप्को तिनको दिलले पिउँदै विकृत गरी,
हाय ! हायमा चल्दछ दुनियाँ बर्बर बोली अरु भाषा !

ड.
मुनिका भस्मकणी ली सरिता सागर खोजी बग्दैछन् !
प्रश्नहरुले सम्बोधित यी युग, युग तटिनी छन् आँशु !
परिवर्तनले ज्वाला–मन्दिर सज्छ चिताको दिनदिन दनदन !
प्रश्नकर्ता उपहास गरीकन, जलिरहेको जिज्ञासु !

ढ.
धाँजा उरका चीत्कारहरुकन गर्दछ नीरवले उपहास !
चैतन्यका सब वामनसेना दुगुरिरहेछन् रे बेकार !
अन्ध रहस्यको किल्ला फोरेन नौ तह बाक्लो दुर्भेद्य, हताश
फर्कन्छन् ती आफैंतिर नित, सम्भव नभई, मानी हार !

ण.
शायद रुद्र समाधि लगाई आफैंलाई बुझ्न बसे !
अगणित युगतक आफैं नबुझी, बिउँझी फेरि चकित बने !
माया ब्रह्म परस्पर खोज्दै चलिरहेछन् कल्पविषे !
आफ्नो योग, वियोग नबुझ्दा, छन् त्यसैमा व्यस्त भने !

त.
एक पहेली नित्य खुला यो ! जीवन, चेष्टा उत्तरका झैँ,
अगणित बार बलीकन निभ्छन् अन्धकारमा नित्य विलीन !
पुनरुद्दीपन प्रश्न–शिखाको अनिलाहत क्या फिरका झैँ !
इतिहास यही छ यो संसारी, चिताकथित कहानी दीन !

थ.
चिच्याईकन सोध्छु विपिनसँग कहाँ गए ती प्रिय सारा ?
मेरा स्मृतिका धनहरु सुन्दर, मेरा दृगका जलका धार ?
आत्मा ती आधारहरु झैं, निजी महलका खम्बा प्यारा ?
खण्डहरु सोध्छ अतीत अँध्यारोसँग— खै ए प्रिय आकार ?

द.
जल लहरीले ठक्कर दी दी भत्कारझैँ जीवनकूल
फिरफिर घिरघिर चल्दछ जलमा टुट्दै, फुट्दै, चिरादार !
आखिर मै पनि साथ दगुर्छ आतसैमा पीडाकुल
चिच्याइरहेका धारहरुप्रति चिच्च्याईकन प्रश्न हजार !

ध.
तीन टुक्रा टुक्रिसकेको विदीर्ण कलेजा, चहराई,
विस्मृतिलाई हप्काईकन, गर्छ निशासँग एक उजूर !
बालवञ्चिता प्रकृति विलप्छे चीत्कार पुराना दोह¥याई,
अतिश्रुति तीक्ष्ण लवज लजाउँछ लुक्दो शिवको स्वर्ण गजूर !

न.
अस्तित्व कहाँ गो ? जो यो दिलले स्मृतिसँग मागी पाउँछ खास !
जो स्वपनाले, बिपनालाई सुताई, बताई ल्याउँछे झलझल ?
लुटपुट खेल्दछ जोसँग, आत्मा, पाई निशाको एकलास,
कुण्ठित कामना, तृष्णाहरुका जालीहरु सब नाची पिलपिल !

प.
हात समाती कलिला, न्याना, जग–जिज्ञासु, चपले क्षण,
जीवन–छरिता, सरिता तटमा पूmल कोपिला सुँघ्दै, चिनाई,
कुण्ठित इच्छापूर्ति गराउन, बाबु हुनाले परिमित साधन,–
कल्पनाका उपवन डुल्दछ अझ यो आत्मा तिनसँग हाई !

फ.
क्रूर ! क्रूर ! यो चोरी अतिशय ! रत्न गुमेको धनी गरीबमा !
लाचारीले पिलपिल दृगले उत्पीडनको मुख हेरी,
अन्तिम–उष्ण–सलिल समाद्र्र–आशामुख ती, रुन्छन् नसीवमा !
स्मृतिले वरवर ताराकणिका भर्नु, नीलो पट घेरी !

ब.
यस जलमा छन् गुडिरहेको भस्मकणीहरु सब तिनका !
यस दिलमा छन् जलिरहेका छापा तिनका प्रिय आकार !
माटो पाई प्रसन्न बिउझैं हाल्न जराका जाली मनका
तत्पर, बग्दा ती फर्कन्छन् उजूर गरीकन, तीव्र हजार !

भ.
पिता र माता, बालक बन्धु, यस सरिताका तट रुन्छन् !
अतृप्त सारा आकाङ्क्षाका सम्बन्धी सब नाता जोडी !
मर्दछु निशिभर तिनसँग जिउँदै, मैसँग क्रीडित हुन्छन् ?
तर हे संज्ञा ! पुनरागमन तेरो डस्दछ सपना तोडी !

म.
खस्दा माटो जल–ठक्करले फ्यास्स झरीकन तर आधा
बीच किनारमा जलवर गर्दछ स्नेहले सम्झी आधार !
चोइटेको तट पनि बोल्दछ चिच्च्याईकन भै बाधा,
पक्रूँ, पत्रूmँ बिचमै लरवर अंश त्यो झर्दछ–क्या लाचार !

य.
यहीँ, यहीँ हो तर संसृतिको सरिताको रे रुदित किनार !
विदीर्ण उरका दाना, चोइटा, गुडिरहेछन् युगयुग धार !
आँशु प्रकृत हो दृगभर मेरो अतीत जीवनको यो भार !
यहीँ खसाल्नु छ, यहीं बिसाउनु, यहीँ बगाउनु आखिरकार!