Last modified on 18 जुलाई 2017, at 11:10

आवरण / बैरागी काइँला

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:10, 18 जुलाई 2017 का अवतरण


यो सूट, यो टाई र यो चश्माको फ्रेम
मेरो हजुरलाई
मन परेन छ , क्यार !
यी आवरणबीच
मेरो हजुरले
मलाई अराउनु भएछ ........क्यार !
 
यो कोटको सिलाईको प्याटर्न,
हजुरको अङ्कमालको उष्णताझैँ.....
मेरो घाँटीमा बेरिएको टाईको रातो रङ्ग,
अनि यो टाँकिएको गुलावको फूल
यही फूल हेर्दाहेर्दै
मेरो हजुरको उमेर गएछ.........क्यार !
 
यो सुट यो टाई र यो चश्माको फ्रेम
हाम्रो हृदयमिलनमा
मेरो हजुरलाई
बाधा भएछन्, क्यार !
यो जीवनको अवधिभरि
मेरो, क्षणप्रतिक्षणको, यही साधना छ
कि हजुरलाई र आफूलाई
आवरणको बन्धनबाट मुक्त गरुँ !
 
त्यो सागरको गहिराइ झैँ कालो सारी,
यो मेरो शरीर सुहाउने कालो सूट,
रातको अन्धकार जस्तो
यी आवरणको कालिमाबाट
कि मेरो हजुरलाई मात्र नभई आफूलाई पनि
म मुक्त गरुँ ...........
तर त्यस शरमाइलो आकृतिलाई
ती सारी र ब्लाउजलाई
 
अथवा
रगतले रङ्गिएर
आकाङ्क्षाको नशाले बुनेको थल्थलाउँदो
आवरणलाई .....
काठको खुट्टा भएको
केन्भासमा छरिएका रेखाहरूका भीडभित्र
जिन्दगीको अस्पष्ट र अधुरो तस्बीर मानेर
कुचीको जङ्गली आक्रमणले
नङका स्पन्दनहीन आघातले
त्यही जिन्दगीको खोजीमा त्यसकै पूर्णत्वको खोजी भनेर
कसरी चिथरेर नङग्याई दिऊँ ....
कसरी नङग्याउदै चिथरेर बिगारी दिऊँ .....
 
जीवनमा जिन्दगी चाहिन्छ !
माया गर्ने मुटु र मुस्कान चाहिन्छन् !
घरघरको फूलदानमा फूल चाहिन्छ !
बाँच्नलाई प्रेम र आकर्षण चाहिन्छन् !
 
यिनै त हुन्
बर्खाको सिमसिमाउँदा झरी
 
एकरातभरि बर्सेर बारी र खेतमाथि
निर्वसना धरतीको छात्तीमाथि
डल्लाडल्ला माटाका ढिस्कनालाई
कलकलाउँदो झरीले ढाकिदिन्छ
भित्ता पाखा धोएर बाछिट्टाले
प्रत्येक झ्यालको ऐना पखाल्दछ !
 
अनि
पट्टाइलाग्दो औपचारिकता
जीवनको रातो दिनको झञ्झट
कदम-कदमको ठोक्कर
जीवन प्रति बढदो उदासिनतालाई ....
 
बिहान भएपछि
 
पातलो सारीले सर्वाङ्ग कौमार्य भिजाई
आफैँ लजाउदै आफूसित
नुहाइरहने किशोरी झैँ
आझै झस्कँदै आफूसित भिजेकी यो धरतीको अघिल्तिर......
 
नुहाएपछि भिजेको शरीरभरि
भरिएको जियालोपनकेा अनुभूतिसित
कति चङ्गा, स्फूर्ति र स्वस्थ पारिदिन्छ।
 
यसर्थ,
कति राम्रो सुट लाएर
दिनमा कति खेप कति खेप
म सधैँ देखापर्दछु :
सिनेमा घरको छेउछाउ
चोकबजारको पसलअघिल्तिर
चौरस्ताको पटाङ्गिनीमा
अथवा मेरो हजुरको आँखा ठोक्किने
बाटाहरूमा कुनै रेलिङतिर !
कतैतिर !
 
तर प्रत्येकपल्ट,
पछ्याइरहने धृष्ट परदेशी आँखा ठानी
केही रिसाएर
केही घिनाएर
केही उसको अज्ञानमा दुःखी भएर
सधैँ यौटा आँखा तर्नुहुन्छ !
मतिर !
 
अनि
आकाशतिर हेर्दै
पेन्टको गोजीमा हात हालेर
त्यतै वारिपरि अरल्लिदै
म मनमा गम्दछुः
 
कि साँच्चै
मेरो हजुरले
मलाई चिन्नु भएन छ- क्यार !
यी आवरणबीच
मेरो हजुरले ....
मलाई हराउनु भएछ- क्यार !