Last modified on 16 अगस्त 2017, at 15:43

आवाजको पीडा / विप्लव प्रतीक


यतिखेर ओठ सिइएको छ मेरो
टम्म पारेर छिद्रविहीन
चर्कंदो छ छातीको घाउ र रसाइरहेछ रगत
ओठको कापबाट
गुनासो यति मात्र कि छातीको घाउचाहिँ यथावt /ह्यो
गुनासो यति मात्र कि अब पीडाको आवाज निलम्बित भयो ।

आवश्यकताहरू कहिलेकाहीँ गाँसभित्र मात्रै कैद हुन सक्तैनन्
आवश्यकताहरू सधैँ बासकै मात्र हुँदैनन्
आवश्यकताहरू कपासको मात्रै नहुन पनि सक्छन्
सजायले स्वाभिमान निल्न सक्तैन
र सयचोटि मर्नका खातिर
मान्छे कहिल्यै एकपटकका निम्ति बिउँझ्न हुँदैन ।

आवश्यकता मलाई त, विचार, क्रियाशीलता र बोलीको छ
मलाई बोली फिर्ता देऊ
मेरो छाती दुख्दैछ पीडाले ।
यो पीडा र दुःख
बोली र विचार अभिव्यक्त गर्न नसक्नुको हो
ए, मेरो आवाजका कारण मलाई लखेट्नेहरू !
मेरो छातीको पीडा तिमीहरूले बुझन सक्ने छैनौ ।

मलाई घाउबारे बोल्नु छ
मलाई दुखाइबारे बोल्नु छ
तर, छातीको घाउ नबोल्न
पीडा झेलिरहन र देखाउन नसक्न
यतिखेर ओठ सिइएको छ मेरो टम्म मिलाएर ।

तर, अहिले मेरो आवश्यकता नै बोली हो
यतिखेर मलाई मेरो आवाज फिर्ता चाहिएको छ
मलाई अभिव्यक्तिका लागि पर्याप्त वाणी चाहिएको छ ।