भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आस्थाहरू स्वतन्त्र हुन खोज्छन् / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:58, 4 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

म एकफेरा निर्लिप्त हुने मन गर्छु
ती अँध्यारा कोठाहरूझैँ, जो सधैँ कुनै बेस्यहार परेको
– परिवेश जिउँछन् ।

तिमीहरू भन्छौ, ती अघिल्ला झ्यालहरू पनि अनुहार हुन्,
जस्तै बगिरहेका खोलाहरू,
जस्तै अल्झिरहेका बार्दली र झ्यालहरू ।
तिमीहरूले जस्तै,
म सुन्न खोज्छु अनुहारहरू, अँध्यारोमा अँध्यारोहरूमा
यस्तो गर्दा गर्दै कतै कोलाहल बनेको त होइन ?
यस्तो गर्दागर्दै कतै हाँगाहरू बनिरहेको त होइन ?
तैपनि, ती अँध्यारा कोठाहरू झैँ
स्वरूप बनिरहेका हुन्छन्,
कतै वरिपरिको परिवेशको नाममा भित्ता बनेर
त्यता कतै ठूलो अग्निको रापले उभिन खोजेको छ,
उभिँदै र अग्लो हुँदै
अग्लो हुँदै र उभिँदै,
तिमीहरूले भन के भइरहेछ यसरी यहाँ
तिमीहरूले भन के गइरहेछ यसरी यहाँ ?

यात्रा जस्तो
जहाँ पुग्ने क्रमको कुनै रुप छैन
तैपनि तिमीलाई ।
तैपनि मलाई जीउन मन लागिरहेछ
यी सबैबाहेक केही हुन मन लागिरहेछ
ती यात्रा किन बगिरहेको नदी नसोध
उत्तर छैन ।
ती किरणहरू किन भाँचिरहेका, बनिरहेका नसोध,
गति छैन ।
ती बिम्ब किन खोला भइरहेका, नसोध,
पानी छैन ।

तैपनि एउटा मानिस मेरो सामू एउटा गिलास
म उसलाई हेर्न खोज्छु, पिइरहन्छ
उसले गिलास किन पिइरहन्छ,
एकछिन पर्ख, म केही भन्न खोजूँ तिमीलाई
कहिले काहीँ अलिकति पर्दा खोलेर बाहिर हेरेको झैँ
जो निरन्तर बाहिर भइरहन्छ
जो निरन्तर भित्र हुन सक्दैन
जब, त्यो बाहिर भइरहन्छ ।

एकछिन पर्ख म कसैलाई लेखूँ, बिहान गरेर
बिहान उज्यालोको तिमीलाई उपहार हो
तर, त्यहाँ पनि व्यवधान छ,
यी सबै उसले खाएको गिलासको प्रभाव होला
उसले गिलास खाँदा, मलाई हुने गिलासको
– प्रभाव !

त्यता कतै अग्निको सल्काइले, समिधा पाएर,
अग्लो जान्छ पहेँलो तातो भएर माथिसम्म,
त्यस कुनै पनि माथिलाई सल्काउँदै,
कतै नजीक र टाढाबाट केही कर्कश
– बजिरहेर ।
बजिरहन्छ अचेल कर्कश, कानैमा
फेरि बिस्तारै बिलाउँदै जान्छ त्यो हो
त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु ।
कहिलेकाहीँ छेक्छ सीमानाले
र कहिलेकाहीँ सीमानाले बाटो बगाउँछ
त्यो निर्मितिसम्म,
कसैलाई बाँच्ने मन हुन्छ त्यसैले
कसैलाई मर्ने मन हुन्छ त्यसैले ।
मैले र तिमीले । तिमीहरूले यिनै कोलाहलको बीच
– यस प्रकार बाँच्ने र मर्ने मनको कुरा !
हिसाब लेखिन खोजिन्छ कहिले काहीँ
एउटा सानो केटाले भनेको आधारमा –
– आर्कीमिडिज् !
तिमीहरू जल्न चाहँदैनौ,
कोही पनि जल्न चाहँदैन,
त्यसैले कोही पनि, त्यसैले कोही पनि कोही होइन ।

एउटा अग्लो टाकुरोलाई
जिस्काउँछ कुनै सानो लघुताले भने
– त्यो अस्तित्वको खोजी हो ।

त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु,
ती अनेकौँ अनुहारजस्तै
ती अनेकौँ अँध्यारोहरूजस्तै
ती अनेकौँ कोठाहरूजस्तै
र एकफेरा म स्वतन्त्र हुन खोज्छु
ती अनेकौँ आस्थाहरूजस्तै ।