Last modified on 6 अगस्त 2016, at 01:50

आहा! वनमा फुल्यो फूलैफूल / किरण खरेल

आहा! वनमा फुल्यो फूलैफूल बास्ना चल्यो मनैमा
हाँसूँहाँसूँ लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने

जता हेर्यो् चारैतिर नयाँ रङ्ग छायो
आफैँसित लाज लाग्ने कस्तो बेला आयो
छमछमाई पाइलाहरू जोवनको कलमा
नाचूँ नाचूँ लाग्न थाल्यो ढुकढुकीको तालमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने

गुराँसको फरिया हेरौं चमेलीको चोली
वेली वास चलाउँछे मनको कुरा खोली
फरफराए ओठहरू बैँस बोलाएर
भागूँ भागूँ लाग्न थाल्यो आँखा लोलाएर
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने